हेमा भट्ट/कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतबाट अवैध रूपमा भन्सार छलि गरी नेपाल भित्र्याइएका विभिन्न सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाएको छ। प्रहरीका अनुसार आज (मिति २०८३ साउन ११ गते) जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका इलाका प्रहरी कार्यालय गड्डाचौकी, दोधारा चाँदनी र त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका अवैध सामान फेला पारेको हो।

बरामद गरिएका सामानमध्ये गड्डाचौकी क्षेत्रबाट करिब रु. १ लाख ४३ हजार ८५०, दोधारा चाँदनी क्षेत्रबाट रु. १ लाख १७ हजार ९८० तथा त्रिभुवनबस्ती क्षेत्रबाट रु. ८ हजार ८०० मूल्य बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। यसरी जम्मा रु. २ लाख ७० हजार ६३० मूल्य बराबरका सामान नियन्त्रणमा लिइएको हो। बरामद गरिएका सामग्रीमा सुपर स्प्लेन्डर मोटरसाइकलका पार्टपुर्जा, पर्दा, साडी, चिसो पेय पदार्थ, युरिया मल, नुभान औषधि, बम्पर फ्लावर, मैदा, चिनी तथा २५० लिटर डिजेल लगायतका वस्तु रहेका छन्।

प्रहरीले बरामद गरिएका सम्पूर्ण सामान आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित भन्सार कार्यालयमा बुझाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले सीमावर्ती क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा भन्सार छलि नियन्त्रणका लागि प्रहरीको निगरानी र अभियान निरन्तर जारी रहने जानकारी दिएका छन्। साथै यस्ता गैरकानुनी गतिविधिबारे सूचना भएमा तत्काल प्रहरीलाई जानकारी गराई सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरिएको छ।











