काठमाडौं: काठमाडौंको आलोकनगरमा सफलतापूर्वक सञ्चालन हुँदै आएको ‘चिया कफी दरबार’को दोस्रो शाखा काठमाडौंको सामाखुसीमा औपचारिक रूपमा उद्घाटन भएको छ।

चिया कफी दरबारका सञ्चालक नरेन्द्र शाहका अनुसार आइतबार बिहान आयोजित एक कार्यक्रमबीच ज्येष्ठ नागरिकको हातबाट शाखाको उद्घाटन गरिएको हो। आइतबार बिहान ११:०० बजे आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका अतिथि, शुभेच्छुक तथा ग्राहकहरूको उल्लेखनीय सहभागिता समेत रहेको थियो।

सञ्चालक शाहले नेपाली युवाहरूले स्वदेशमै लगानी गरी रोजगारी सिर्जना गर्ने र देशको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यका साथ व्यवसाय सञ्चालन गर्दै आएको बताए। उनले भने, “युवा व्यवसायीहरूले विदेशतर्फ मात्र होइन, नेपालमै लगानी गरेर केही गर्नुपर्छ भन्ने सकारात्मक सोचका साथ हामीले यो यात्रा अघि बढाएका छौँ। ग्राहकहरूको विश्वास र साथले नै दोस्रो शाखा विस्तार गर्न सफल भएका हौँ।”

परम्परागत स्वाद, आत्मीय सेवा तथा गुणस्तरीय चिया र कफीका लागि परिचित ‘चिया कफी दरबार’ले नयाँ शाखामार्फत पनि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। सुदूरपश्चिम प्रदेशका चर्चित गायक चक्र बमका बुबा ज्येष्ठ नागरिक रुद्र सिंह बमले दोस्रो शाखाको उद्घाटन गर्नुभएको हो।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला, बेल्डाँडी गाउँपालिकाका युवा व्यवसायी नरेन्द्र शाह, आर्यन शाही ठकुरी, चेतबहादुर शाह तथा सुदूरपश्चिम प्रदेशलगायत नेपालका चर्चित गायक चक्र बम लगायत टोलीले नयाँ आयामका साथ सामाखुसीमा ‘चिया कफी दरबार’को दोस्रो शाखा सञ्चालनमा ल्याएका छन्।
युवाहरूलाई प्रत्यक्ष रोजगारी दिन सफल भएकोमा आफू निकै खुसी रहेको सञ्चालक नरेन्द्र शाहले बताउनुभयो। उहाँले नेपालका विभिन्न स्थानका साथै सुदूरपश्चिम प्रदेशका धनगढी र महेन्द्रनगरमा पनि ‘चिया कफी दरबार’का शाखा छिट्टै विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।
सुदूरपश्चिम प्रदेशका चर्चित गायक चक्र बम, टंक लिम्बुसेना, चेतन बोहरा, हेमराज अधिकारी (खन्टेखलास) लगायतको उपस्थिति रहेको थियो। व्यवसायसँगै सांस्कृतिक संरक्षणका लागि सुदूरपश्चिमको देउडा संस्कृतिलाई मुख्य प्राथमिकतामा राखिनेमा पनि जोड दिइएको छ।











