हेमा भट्ट/कञ्चनपुर – “स्वच्छ वातावरण, स्वस्थ नागरिक हाम्रो साझा जिम्मेवारी” भन्ने मूल नारालाई आत्मसात् गर्दै कृष्णपुर नगरपालिकाले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा वृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ। नगर प्रमुख हेमराज ओझाको नेतृत्वमा सम्पन्न अभियानले विश्वविद्यालय परिसरलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने अभियानमा नयाँ ऊर्जा थपेको छ।

कार्यक्रममा नगर प्रमुख ओझासहित नगर उपप्रमुख सहित कृष्णपुर नगरपालिकाका ९ वटै वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी, युवा क्लब, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रतिनिधि, श्री ग्वासी समैजी गौशाला व्यवस्थापन समिति परिवार, स्थानीयवासी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सरसफाइ अभियानमा सहभागी सबैले हातमा हसिया, पन्जा र अन्य सरसफाइ सामग्री लिएर झाडी फडानी, फोहोर संकलन तथा व्यवस्थापनको काम गरेका थिए। संकलित फोहोरलाई उचित स्थानमा व्यवस्थापन गरिएको थियो भने झाडीले ढाकिएका क्षेत्रहरू सफा गरी विश्वविद्यालय परिसरलाई खुला र व्यवस्थित बनाइएको थियो।

अभियानलाई प्रभावकारी बनाउन कृष्णपुर नगरपालिकाले दुई वटा जेसीबी, पिउने पानी, हातमा लगाउने ग्लोभ्स (पन्जा) लगायत आवश्यक स्रोत-साधनको व्यवस्थापन गरेको थियो। विशेष कुरा, नगर प्रमुख हेमराज ओझा स्वयं पन्जा र हसिया हातमा लिएर सरसफाइमा प्रत्यक्ष रूपमा खटिएका थिए। उनको सक्रिय सहभागिताले उपस्थित सबैलाई थप उत्साहित बनाएको देखिन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हेमराज ओझाले सुदूरपश्चिम प्रदेशको गौरवको रूपमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय यथाशीघ्र पूर्ण रूपमा सञ्चालनमा आउनुपर्ने आवश्यकता औँल्याए। उनले विश्वविद्यालय सञ्चालन हुनु यस क्षेत्रको स्वास्थ्य शिक्षा, अनुसन्धान, रोजगारी र समग्र विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै पक्षलाई साझा जिम्मेवारीका साथ सहयोग गर्न आग्रह गरे। उनले भने, विश्वविद्यालयको पूर्वाधार जोगाउनु, वातावरण स्वच्छ राख्नु र यसलाई छिटो सञ्चालनमा ल्याउन सबैको साथ आवश्यक छ। स्वच्छ वातावरण निर्माण गर्नु प्रत्येक नागरिकको दायित्व हो।
अभियानको लाइभ भिडियो प्रसारण समेत गरिएको थियो, जसबाट सरसफाइ अभियानप्रति आम नागरिकमा सकारात्मक सन्देश प्रवाह हुनुका साथै वातावरण संरक्षणप्रति जनचासो र सहभागिता अझ बढ्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कृष्णपुर नगरपालिकाको पहलमा सम्पन्न यो अभियान केवल सरसफाइ कार्यक्रम मात्र नभई विश्वविद्यालयप्रतिको जिम्मेवारी, वातावरण संरक्षणप्रतिको प्रतिबद्धता र सामूहिक श्रमदानको उत्कृष्ट उदाहरण बनेको सहभागीहरूले बताएका छन्। नगरपालिकाले आगामी दिनमा पनि यस्ता जनसहभागिता मूलक अभियानलाई निरन्तरता दिँदै स्वच्छ, हरित र व्यवस्थित समाज निर्माणमा अग्रसर रहने जनाएको छ।










