कञ्चनपुर : कञ्चनपुर ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले प्रतिनिधिसभा को असार ३१ गते बसेको बैठकमा कञ्चनपुरको निर्माणाधीन मझगाउँ विमानस्थल निर्माणमा भइरहेको ढिलाइ बारे सरकारको ध्यानाकर्षण गराएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क ९गनेश० पौडेलले आज कञ्चनपुरको मझगाउ विमानस्थलको स्थलगत अनुगमन गर्नुभएको छ।

मन्त्री पौडेल र सांसद महताले निर्माणाधीन मझगाउँ विमानस्थलको अवलोकन गर्दै हालसम्मको निर्माण प्रगति, बाँकी रहेका काम तथा विमानस्थललाई शीघ्र सञ्चालनमा ल्याउन आवश्यक तयारीबारे सम्बन्धित अधिकारीहरूसँग विस्तृत छलफल गर्नुभयो। अनुगमनका क्रममा मन्त्री पौडेलले निर्माणमा देखिएका समस्या समाधानका लागि मन्त्रालयबाट आवश्यक समन्वय र सहजीकरण गरिने तथा निर्माण कार्यलाई तीव्रता दिई निर्धारित समयमै विमानस्थल सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

प्रतिनिधिसभा सदस्य महताले मझगाउँ विमानस्थल कञ्चनपुर तथा समग्र सुदूरपश्चिमको विकासका लागि रणनीतिक महत्वको आयोजना भएकाले निर्माण कार्यमा कुनै ढिलाइ हुन नहुने उल्लेख गर्दै सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी बाँकी काम यथाशीघ्र सम्पन्न गर्न आग्रह गर्नुभयो। मझगाउँ विमानस्थल लामो समयदेखि सञ्चालनमा आउन नसक्दा यस क्षेत्रका नागरिकले हवाई सेवाबाट वञ्चित हुनुपरेको छ। पछिल्लो समय संसददेखि स्थलगत अनुगमनसम्म भएका पहलले विमानस्थल निर्माणले थप गति लिने अपेक्षा गरिएको छ।











