डिल्ली राज पन्त / कञ्चनपुर — कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाउन शनिबार स्थलगत अनुगमन गरिएको छ। अनुगमनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता, भूमि समस्या समाधान समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मदन कोइराला, समितिका सदस्यहरू, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरी तथा दोधाराचाँदनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बु लगायतको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा लालपुर्जा वितरणका लागि आवश्यक प्रक्रिया, जग्गाको अवस्था तथा स्थानीय बासिन्दाका समस्याबारे जानकारी लिइएको थियो। सरोकारवालाले प्रक्रिया छिटो सम्पन्न गरी वास्तविक भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयवासीले पनि लामो समयदेखि प्रतीक्षारत लालपुर्जा वितरण प्रक्रिया शीघ्र टुंग्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।











