कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ जमुना आधारभुत बिद्यालयको छतमा रिफ्लेक्टिभ पेन्ट गरिएको छ् । स्थानीय सरकारको सक्रियता र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को जलवायु उत्थानशील समुदाय (सिआरसी) परियोजनाको सहयोगमा नमूना विद्यालय छनौट गरी केही कोठाहरुमा परीक्षण स्वरुप रिफ्लेक्टिभ पेन्ट गरिएको हो । रिफ्लेक्टिभ पेन्ट भनेको सूर्यको प्रकाशको किरणहरुलाई सतहबाट फिर्ता (परावर्तन) गर्ने विशेष रङरोगन हो । सामान्य रङरोगनहरुले सूर्यको ऊर्जा सोस्छन् । तर रिफ्लेक्टिभ पेन्टले प्रकाश र ताप दुवैलाई धेरै हद सम्म फिर्ता फर्काइदिन्छ् । यसलाई ‘कूल रुफ टेक्नोलोजी’ पनि भनिन्छ् । यो पेन्टले छत वा भित्ताको ताप सोस्ने दर कम गर्छ र कोठामा बढी गर्मी हुनबाट रोक्न मद्दत पुर्याउछ् । बिद्यालयको टिनका पातामा रिफ्लेक्टिभ पेन्ट गरेपछि केही हद सम्म गर्मी नहुने गरेको बिद्यार्थीहरुले बताएका छन् ।


रिफ्लेक्टिभ पेन्ट गरेको कक्षा कोठामा पढ्न पाउदा उच्च गर्मीबाट सहज महशुस गरेको बिद्यार्थीहरुको भनाई छ् । पेन्टिङ गरेपछि तुलनात्मक रुपमा कम गर्मी महशुस गरेको जमुना आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपक सिंह महताले बताउनुभएको छ् । सिआरसी परियोजना मार्फत तातो हावा अर्थात लू बाट विद्यालय शिक्षालाई प्रभावित हुन नदिन परीक्षणको रुपमा जमुना आधारभुत बिद्यालयमा रिफ्लेक्टिभ पेन्ट गरिएको व्यवस्थापन समितिका अध्यक्ष दिपक सिंह महताले बताउनुभयो । भारत तथा अन्य विभिन्न मुलुकहरुमा अपनाईएको यस प्रविधी नेपालका कञ्चनपुर, कैलाली र बर्दियाका विद्यालयमा पनि परिक्षण गरिएको बताईएको छ् ।

नमूना परीक्षण गरिएका विद्यालयको छतमा सेतो रंग लगाईएको र कक्षाकोठामा तापक्रम मापनका लागि थर्मोमिटर राखिएको सिआरसी परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले बताउनुभयो । तापक्रम मापन गर्दा रिफ्लेक्टिभ पेन्ट (सेतो रंग) नलगाएको भवनमा भन्दा सेतो रंग लगाएको कक्षाकोठामा तापक्रम कम भएको निरन्तरको अध्ययनले देखाएको उहाँको भनाई छ् । जमुना आधारभुत बिद्यालयमा गर्मी र लु न्युनिकरणका लागि चिसो शुद्ध पानीको ब्यवस्था, बृक्षरोपण लगाएत कार्य भएको सिआरसी परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले बताउनुभयो ।

अत्याधिक गर्मी र लु न्युनिकरणका लागि जमुना आधारभुत विद्यालयमा गरिएको प्रयासलाई प्रभावकारीताका आधारमा अन्य विद्यालयमा पनि राख्न सक्ने हो भने तातो हावाका कारण विद्यालय शिक्षा प्रभावित हुनबाट जोगिन सकिने स्थानियबासीहरुले बताएका छन् ।






