राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : समाजमा गहिरो रूपमा जरा गाडेर बसेको जातीय विभेद र छुवाछूत अन्त्यका लागि धार्मिक क्षेत्रबाटै समावेशीताको अभ्यास गर्दै आउनु भएका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तलाई कञ्चनपुरमा सम्मान गरिएको छ । दलित तथा पछाडि पारिएका समुदायका घरमै पुगेर धार्मिक संस्कार सञ्चालन गर्दै सामाजिक समानताको सन्देश फैलाएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो ।

शुक्लाफाँटा नगरपालिका–५ बनसमिति स्थीत वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा पन्तलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरेको हो । वडा सचिव टेकराज पाण्डेयका अनुसार पन्तले विगत २७ वर्षदेखि दलित तथा पछाडि पारिएका समुदायका घरमा पुगेर जन्मदेखि मृत्युसम्मका धार्मिक संस्कार तथा कर्मकाण्ड सञ्चालन गर्दै धार्मिक तथा सामाजिक समावेशीताको अभ्यासलाई निरन्तरता दिँदै आउनुभएको छ ।
राज ज्योतिषी, राजगुरु संस्कारशिरोमणि, ज्योतिषाचार्य, वास्तुविद् र पञ्चांगकर्ताकारूपमा परिचित पन्तले विवाह, व्रतबन्ध, पास्नी, श्राद्ध, पितृकार्यलगायतका धार्मिक अनुष्ठानमा जातीय विभेदको परम्परागत अभ्यासलाई चुनौती दिँदै सबै समुदायलाई समान रूपमा सेवा प्रदान गर्दै आउनुभएको छ ।

पण्डित पन्तलाई प्रदान गरिएको सम्मानपत्रमा हिन्दु धर्मभित्र रहेको आन्तरिक विभेद न्यूनीकरण, धार्मिक सहिष्णुता प्रवद्र्धन तथा सामाजिक समावेशीकरणका लागि उहाँले पु¥याएको योगदानलाई “साहसिक र ऐतिहासिक कार्य”का रूपमा उल्लेख गरिएको छ । सम्मान कार्यक्रममा वडा अध्यक्ष चक्रबहादुर खड्काले धार्मिक क्षेत्रबाटै सामाजिक परिवर्तनको सन्देश प्रवाह हुनु सकारात्मक पक्ष भएको बताउनुभयो । “जातीय विभेदमुक्त समाज निर्माणका लागि व्यवहारमै उदाहरण प्रस्तुत गर्ने व्यक्तित्वलाई सम्मान गर्न पाउँदा हामी गौरवान्वित छौँ,” उहाँले भन्नुभयो।

वडा सचिव पाण्डेयले पन्तको योगदानले धार्मिक अभ्यासलाई समावेशी बनाउनुका साथै समाजमा समानता, सद्भाव र सहअस्तित्वको भावना विकास गर्न मद्दत पुगेको बताउनुभयो ।
दलित अधिकारकर्मी शिवी लुहारले धार्मिक क्षेत्रमा देखिने विभेद अन्त्यका लागि पन्तले खेलेको भूमिका उदाहरणीय रहेको बताउनुभयो । “धार्मिक कर्मकाण्डमा समेत विभेद व्याप्त रहेको समयमा उहाँले दलित समुदायका घरमै पुगेर संस्कार सञ्चालन गर्नुभएको कार्य सामाजिक न्याय र समानताको पक्षमा महत्वपूर्ण योगदान हो,” उहाँले भन्नुभयो। सम्मानित व्यक्तित्व पण्डित गणेशप्रसाद पन्तले धर्मले कुनै पनि व्यक्तिलाई विभेद गर्न नसिकाउने बताउनुभयो । “धर्मको मूल मर्म मानवता, समानता र सहअस्तित्व हो,” उहाँले भन्नुभयो, “जात, वर्ग वा समुदायका आधारमा हुने विभेद हटाउन सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ ।
विगत २७ वर्षदेखि मैले सबै समुदायका घरमा समान रूपमा धार्मिक सेवा प्रदान गर्दै आएको छु र आगामी दिनमा पनि यो अभियान निरन्तर रहनेछ ।” कार्यक्रममा सहभागीत अन्य वक्ताहरुले धार्मिक क्षेत्रबाट सुरु भएको समावेशीताको अभ्यासले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुगेको बताउँदै यस्ता प्रयासले जातीय विभेदमुक्त समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।






