कञ्चनपुर : भीमदत्त नगरपालिका–१० सुकासालस्थित श्री महेश्वर माध्यमिक विद्यालयमा स्थापना गरिएको सूचना तथा सञ्चार प्रविधि (ICT) प्रयोगशालाको उद्घाटन तथा उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विद्यालयलाई प्राप्त अनुदानबाट स्थापना गरिएको आईसीटी प्रयोगशालाको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल ले गरेका हुन्।

कार्यक्रमअन्तर्गत विद्यालयमा स्मार्ट बोर्ड, कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा तथा आवश्यक फर्निचर एवं फिक्स्चर जडान गरिएको छ। ‘डिजिटल युगसँगै अघि बढ्दै, प्रविधिसँगै अध्यापन’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रमले विद्यालयको शिक्षण–सिकाइ प्रक्रियालाई थप आधुनिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रमुख अतिथि रावलले प्रविधियुक्त शिक्षाले विद्यार्थीको सिकाइ क्षमता, अनुसन्धानमुखी सोच तथा डिजिटल सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्न विद्यालय परिवारलाई आग्रह गरे।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको उपस्थितिमा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्रालय र सामाजिक विकास इकाइ कञ्चनपुरप्रति आभार व्यक्त गरिएको थियो।






