राष्ट्रिय सुटिङ च्याम्पियनसिपमा कञ्चनपुरका सुनिल चन्दलाई रजत पदक


रमेश प्रसाद भट्ट/ महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा खेलाडी सुनिल चन्दले काठमाडौंमा सम्पन्न २६औँ महिला तथा २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियनसिप–२०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्न सफल भएका छन्। काठमाडौंको नेशनल स्पोर्ट्स कम्प्लेक्स, सातदोबाटोमा जुन ६ देखि ८ सम्म सञ्चालन भएको राष्ट्रिय प्रतियोगिताअन्तर्गत पुरुष १० मिटर एयर राइफल विधामा चन्दले उल्लेखनीय प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेका हुन्। जेष्ठ २५ गते सम्पन्न फाइनल प्रतिस्पर्धामा उनले देशभरका उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै रजत पदक जित्न सफल भएका हुन्। नेशनल सुटिङ च्याम्पियनसिप–२०२६ मा देशका सातवटै प्रदेश तथा तीन विभागीय टोली गरी कुल १० टोलीको सहभागिता रहेको थियो। प्रत्येक टोलीबाट करिब ४०/४० जना खेलाडी सहभागी भएको प्रतियोगितामा राष्ट्रिय स्तरका अनुभवी तथा प्रतिभावान खेलाडीहरूको प्रतिस्पर्धा रहेको थियो।

यस्ता प्रतिस्पर्धीबीच सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सुनिल चन्दले हासिल गरेको सफलता प्रदेशकै लागि गौरवको विषय बनेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका स्थायी बासिन्दा चन्दले आफ्नो प्रारम्भिक तथा माध्यमिक शिक्षा महेन्द्रनगरस्थित युनाइटेड पब्लिक स्कुलबाट पूरा गरेका हुन्। उनले सोही विद्यालयबाट एसईई उत्तीर्ण गरेका थिए। अध्ययनसँगै खेलकुदमा पनि रुचि राख्दै आएका चन्दले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्। सानै उमेरदेखि खेलप्रति रुचि राखेका उनी निरन्तर प्रशिक्षण र मेहनतका कारण राष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्न सफल भएका छन्। खेलकुद क्षेत्रका जानकारहरूका अनुसार सुटिङ खेल अत्यन्तै अनुशासन, धैर्यता, मानसिक एकाग्रता र नियमित अभ्यास आवश्यक पर्ने खेल हो। यस्तो खेलमा राष्ट्रिय स्तरमा पदक जित्नु आफैँमा महत्वपूर्ण उपलब्धि मानिन्छ। चन्दको यो सफलताले सुदूरपश्चिम प्रदेशमा सुटिङ खेलप्रति आकर्षण बढाउनुका साथै नयाँ पुस्तालाई खेल क्षेत्रमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीहरूको संख्या सीमित रहेको अवस्थामा सुनिल चन्दको यो उपलब्धिले प्रदेशको खेलकुद क्षेत्रलाई थप उत्साहित बनाएको छ। खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूले चन्दलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी प्रतियोगिताहरूमा स्वर्ण पदक जित्ने विश्वास व्यक्त गरेका छन्। यसैबीच, खेलाडीहरूको मनोबल अभिवृद्धि गर्न तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकार र प्रदेश खेलकुद परिषद्ले खेलाडीहरूलाई आवश्यक प्रोत्साहन, आधुनिक प्रशिक्षण, गुणस्तरीय खेल सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याइएको छ।

खेल क्षेत्रका सरोकारवालाहरूका अनुसार पर्याप्त प्रशिक्षण, आवश्यक उपकरण तथा आर्थिक सहयोग उपलब्ध गराउन सके सुदूरपश्चिमका खेलाडीहरूले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत उत्कृष्ट नतिजा हासिल गर्न सक्ने सम्भावना रहेको छ। खेलाडीहरूको क्षमता विकासमा लगानी बढाउन सके प्रदेशबाट भविष्यमा अझ धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ। रजत पदक विजेता सुनिल चन्दको यो उपलब्धिले सुदूरपश्चिम प्रदेशको खेलकुद इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेको छ। उनको सफलताले प्रदेशका युवा खेलाडीहरूलाई खेल क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्नुका साथै सुदूरपश्चिमलाई राष्ट्रिय खेलकुद क्षेत्रमा थप परिचित बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img