कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरमा बडघर, भलमन्सा, चिराकीहरुका लागि प्रथाजन्य कानुन र विपद् सम्बन्धी छलफल गरिएको छ । ‘थारु समुदायको परम्परागत सुशासन र सुुरक्षित समाज हाम्रो प्रतिबद्धता’नाराका साथ आईतबार आन्तरिक मामिला तथा तथा कानुन मन्त्रालयले बडघर, भलमन्सा, चिराकीहरुका लागि प्रथाजन्य कानुन र विपद् सम्बन्धी छलफल गरेको हो ।

आन्तरिक मामिला तथा तथा कानुन मन्त्री हिरा सार्कीले समाजमा न्यायका लागि थारु समुदायको बडघर प्रथालाई ऐनका रुपमा ल्याउने उदेश्यका साथ कार्यक्रम गरिएको बताए । मन्त्री सार्कीले बडघरको परम्परागत प्रथालाई कानुनी मान्यता दिईने बताए । बेदकोट नगरका मेयर भोजराज बोहराले नगरपालिकामा बडघर ऐन बनिसकेको बताउँदै मेयर बोहराले सामुदायिक मेलमिलापमा जोडदिए । कार्यक्रममा मन्त्रालयका उपसचिव कपिल ओझा सहितले कार्यपत्र प्रस्तुत गर्दैै बडघर, भलमन्सा कानुन निर्माणका लागि सुझाव संकलनमा जोडदिए ।

थारु अगुवा सानु चौधरीले बडघर, भलमन्सा, चिराकीहरुका लागि प्रथाजन्य कानुनी मान्यताका लागि पालिका स्तरमा मन्त्रालयले छलफल अघि बढाएको बताए । मन्त्रालयका कम्प्युटर अधिकृत जनक धामीले संचालन गरेको कार्यक्रममा बडघर सहितका सरोकारवाला सहभागि भएका थिए ।







