कञ्चनपुर- लैङ्गिक तथा अल्पसंख्यक समुदायको क्षमता तथा सीप विकास गर्ने उद्देश्यले ४५ दिने ब्यूटी पार्लर (मेकअप) सम्बन्धी तालिम कार्यक्रम औपचारिक रूपमा उद्घाटन गरिएको छ।

बिहीबार बैशाख १७ गते भीमदत्त नगरपालिका–१८, कटानस्थित सहयात्रा नेपाल, महेन्द्रनगरको सभाहलमा आयोजित एक कार्यक्रमका बीच भीमदत्त नगरपालिका नगर कार्यपालिकाको कार्यालय, लैङ्गिक समानता तथा समाज कल्याण शाखा कञ्चनपुरको आयोजनामा तथा सहयात्रा नेपालको समन्वयमा तालिम उद्घाटन गरिएको हो।

भीमदत्त नगरपालिका प्रशासकीय अधिकृत हरि सिंह धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला विकास अधिकृत कुन्ती लेखक, सहयात्रा नेपालका कार्यसमिति सदस्य मनिष बिक, सहयात्रा नेपालका कार्यक्रम संयोजक चाल्स बोन सिजापाती, प्रशिक्षक केशव डगौंरा लगायत अल्पसंख्यक समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रशासकीय अधिकृत धामीले सीप आर्जनमार्फत आत्मनिर्भर भई व्यावसायिकतर्फ अग्रसर हुन सहभागीहरूलाई आग्रह गर्नुभयो। साथै, आगामी दिनहरूमा पनि पालिकाबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैगरी, सहयात्रा नेपालका संयोजक चाल्स बोन सिजापातीले क्षमता विकास र सीप आर्जनका लागि गरिएको समन्वय र सहयोगप्रति भीमदत्त नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो। उक्त तालिमले सहभागीहरूलाई आत्मनिर्भर बनाउँदै रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने विश्वास लिइएको छ।







