कञ्चनपुर : कञ्चनपुरमा धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपालको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ। भेलाले कमरेड अनमोल ठकुरीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ।

भेलामा संगठनका पश्चिम कमाण्ड इन्चार्ज दिपेन्द्र ऐरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने पार्टीका ७ नं. ब्युरो इन्चार्ज डिडी पाण्डे (डडेल्धुरा) विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा पार्टी कञ्चनपुर जिल्ला इन्चार्ज राम भट्ट, पार्टी सल्लाहकार समिति सदस्य डम्बर बिष्ट, जिल्ला सचिव नक्साल बिष्ट, कार्यालय सचिव सुरेन्द्र धानुक, पुष्कर भण्डारी तथा युवा संगठनका जिल्ला इन्चार्ज दीपक पाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि ऐरीले राज्यले फागुन २१ गतेभन्दा अघि शिक्षा र स्वास्थ्य निःशुल्क नगरे चुनाव बहिष्कारमा उत्रिन बाध्य हुने चेतावनी दिए। त्यस्तै, पार्टीका प्रदेश इन्चार्ज डिडी पाण्डेले राज्य जनताप्रति कतै पनि जिम्मेवार नभएको आरोप लगाए। कार्यक्रममा बोल्दै पार्टी कञ्चनपुर जिल्ला इन्चार्ज राम भट्टले विद्यमान विभिन्न बेथितिविरुद्ध संघर्ष गर्न युवाहरूको भूमिका अझ महत्वपूर्ण हुने बताए।











