महेन्द्रनगर – यो बैशाख ८ गते दैजी–जोगबुडा सडक खण्डको कञ्चनपुर जिल्ला क्षेत्राधिकार भित्र पर्ने सडक खण्डमा सडक कालो पत्र गर्न ठेक्का सम्झौता भएको ८ बर्ष पुगेको छ । तर उक्त सडकको कार्य प्रगति भने २० प्रतिशत भन्दा कम छ । अझ रोचक विषय त के छ भने सडक निर्माण कम्पनीले विभिन्न समयमा गरी सम्झौता भएको रकम मध्ये ८६ प्रतिशत अर्थात १८ करोड ३६ लाख रुपैयाँ रकम भुक्तानी लिइसकेको छ । यो सडक समयमै निर्माण नहुँदा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्लाका वासिन्दाले सास्ती पाउने गरेका छन् । चार पटक प्रधानमन्त्री भइसकेका शेर बहादुर देउवा भने काठमाण्डुको एसीमा बसेर रमाएकै छन् ।

विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजार रुपियाँ ठेक्का सम्झौता भएको उक्त सडक आठ वर्ष वित्दा पनि पाच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । उक्त सडक खण्डको ठेक्का निर्माण कम्पनीका लागि दुहुनो गाई भएको छ । प्रत्येक वर्ष अलिअलि काम गरेजस्तो गर्दै भ्यालुएसन गराउँदै करोडौँ रकम निकासा गराउने काम बाहेक सडक निर्माण कार्यमा कुनै पनि प्रगति भएको देखिदैन । हालसम्म सडक निर्माणका लागि पाँच पटक म्याद थप भएता पनि निर्माण कार्य प्रगति शून्य रहेको छ । पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मण राज जोशीका अनुसार गत वर्ष यही २०८२ असार २० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पाँचौँ पटक म्याद थप गरिएको हो ।

डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको विकल्प समेत हो । तर यस सडकको अभिभावकत्व गर्ने जनप्रतिनिधिको पनि अभाव खड्केको देखिन्छ । भित्री मधेषबाट निर्वाचित प्रदेश सभा सदस्यहरूले सडक निर्माण कार्यलाई कडाइका साथ गराउनु पर्ने भएता पनि त्यस जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य खगराज भट्ट र तार जोशी कुन दुलोमा लुकेर बसेका छन् जनतालाई अत्तोपत्तो छैन । भौतिक पूर्वाधार विकास कार्यालय कञ्चनपुर भने यसपालि ठेक्का सम्झौता तोड्ने मोडमा पुगेको छ । हुन त कार्यालयले अघिल्लो वर्ष नै सम्झौता रद्द गर्ने योजना बनाएका पनि नेताहरूकै दबाबमा म्याद थप गर्रीएको एक कर्मचारीले बताए । ‘कार्यालय दुई तिन वर्षअघि नै ठेक्का सम्झौता तोड्ने मनसायमा भएता पनि विभिन्न राजनीतिक दलका नेताहरूको आडमा अहिलेसम्मै सम्झौता रद्द गर्न सकिएन ।’

उनले भने ‘यस वर्ष भने कार्यलयले ठेक्का सम्झौता तोड्नका लागि सात दिने सूचना निकालेको र उक्त समयसीमा भित्र निर्माण कम्पनी सम्पर्कमा आएन् सायद दवाव नआए सम्झौता रद्द हुन्छ होला ।’ यस सडकमा पूर्व भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहराले सडक निर्माणका लागि ठेक्का प्रक्रियाका लागि बजेटको व्यवस्था गर्ने बाहेक त्यहाबाट निर्वाचित कुनै पनि जनप्रतिनिधिले सडकको अभिभावकत्व ननिभाएको गुनासो स्थानीयको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले सडक निर्माणका लागि पाँचौँ पटक म्याद थप गरिएको भएपनि भौगोलिक विकताका कारण सडक निर्माण सम्पन्न हुन नसकेको बताए । अघिल्लो वर्ष सुदूरका पहाडि जिल्ला जोड्ने एक मात्र अत्तरीया–डडेल्धुरा सडक खण्ठको भासुभिरमा अवरुद्ध हुदा यो सडक खुलाउने चर्चा चलेको थियो तर खासै कुरा उठ्न सकेनन्
