बेदकोट र बेलडाँडीका तटीय बस्ती बाढीको जोखिममा, न्यूनीकरणका लागि अध्ययन

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको बेदकोट नगरपालिका–४ मा पर्ने पार्की सार्की टोलका बासिन्दा वर्षेनी बाढी र नदी कटानको उच्च जोखिममा जिवनयापन गर्न बाध्य छन् । चौधर सहित पाँच वटा खोला मिसिने स्थानमा अवस्थित बस्ती बाढी तथा कटानको नियमित चपेटामा पर्दै आएको छ् । सो क्षेत्रका समुदायहरु प्रत्यक्ष रुपमा जोखिममा परेका छन् । जलवायु परिवर्तनको असर र नदीजन्य विपद्को मारले गर्दा स्थानीयवासीले सुरक्षित स्थानको खोजीमा आफ्नो बासस्थान त्याग्नु परेको अवस्था छ् । कतिपय परिवार भारत तर्फ समेत विस्तापित भएका छन् । । यस्तै, बेदकोट नगरपालिकाको चौधर नदी बेसिनमा पर्ने अन्य चार वटा समुदाय पनि हरेक वर्ष यस्तै जोखिममा पर्ने गरेका छन्, भने तल्लो तटीय क्षेत्र अन्तर्गत पर्ने बेल्डाँडी गाँउपालिकाका बस्तीहरु समेत डुबान र कटानको मारमा परिरहेका छन् । स्थानीय बासिन्दा पार्वती ओडका अनुसार चौधर नदीको किनारमा रहेको उक्त बस्तीमा हरेक वर्ष बाढी र कटानको समस्या दोहोरिने गरेको छ् । बाढीका कारण धेरै जसो दाजु भाईले विस्थापित भई गाँउ छाडिसकेको उहाँको भनाई छ् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यक्रम संयोजक राजकुमार सुनारले पार्की सार्की टोलको अवस्था अध्ययन गर्न टोली सहित स्थलगत भ्रमण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बाढीबाट समुदायलाई कसरी सुरक्षित राख्न सकिन्छ् भन्ने विषयमा अहिले अध्ययन भईरहेको छ् । उहाँले एनएनएसडब्लयूए र डीसीएको आर्थिक सहयोगमा सुदूरपश्चिम विश्वविद्यालयको टोलीले विपद्को अवस्थाबारे अध्ययन गरिरहेको बताउनुभयो । त्यसैगरी, डीसीएका व्यवस्थापक दिनेश गुरुङ्गले गरिब तथा सिमान्तकृत समुदाय बाढी जस्ता विपद्बाट बढी प्रभावित हुने भन्दै बहुप्रकोपीय पूर्वसूचना प्रणालीलाई सबै समुदाय सम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

ईन्स्टिट्यूट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर) का कार्यकारी निर्देशक सुरज गौतमले समेत हरेक वर्ष बाढीको चपेटामा पर्ने भएकाले समुदाय उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो । उहाँले संस्थाले परियोजना मार्फत समुदायको क्षमता अभिवृद्धि, पूर्वानुमानमा आधारित अग्रिम प्रतिकार्य तथा सुरक्षित स्थान तर्फ सर्ने अभ्यासको विकासमा ध्यान दिईरहेको जानकारी दिनुभयो । उहाँले यसै वर्ष देखि बेदकोटमा जल तथा मौसम विज्ञान विभाग संगको सहकार्यमा प्रभावमा आधारित मौसम पूर्वानुमान सेवा सुरु गर्न लागिएको पनि बताउनुभयो ।

पार्की सार्की टोल जस्तै धेरै स्थानहरु जलवायु परिवर्तन र प्राकृतिक विपद्बाट प्रभावित भईरहेका छन् । जोखिम कम गर्न र समस्या समाधान गर्न सरकार, स्थानीय तह र संघ–संस्थाले मिलेर काम गर्नै पर्छ् । यस्ता सहकार्यले नै हाम्रो समुदायको सुरक्षा र राम्रो भविष्य सुनिश्चित गर्न सक्छ् ।

ताजा समाचार