कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा रोजगार रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । पुनर्वास नगरपालिका अन्तर्गतको रोजगार सेवा केन्द्र शाखाको आयोजनामा सम्पन्न उक्त गोष्ठीमा स्थानीय तहमा रोजगारी सिर्जनाका उपायहरूमाथि छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले बजारको मागअनुसार तालिम सञ्चालन गर्नु पर्ने, युवाहरूलाई स्वदेशमै व्यवसाय सञ्चालन गर्न प्रेरित गर्ने वातावरण निर्माण गर्नु पर्ने र सीप अभिवृद्धिका लागि विशेष प्याकेज ल्याउनु पर्ने सुझाव दिएका छन् । उनीहरूले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको सीपअनुसारको रोजगारी सुनिश्चित गर्न पनि स्थानीय तहलाई आग्रह गरेका छन् ।

पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माको अध्यक्षतामा भएको गोष्ठीमा युवामैत्री रोजगार कार्यक्रम र सीपयुक्त शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको थियो ।

गोष्ठीमा नगर उपप्रमुख भुलिया कुमारी राना, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, पुनर्वास उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योगका प्रतिनिधि, नागरिक सचेतक समूह, तथा विभिन्न शाखाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रोजगार संयोजक सुशीला देउवाले गर्नुभएको थियो ।
