पप्पु गुरुङ्ग, दोधारा । विपद् जोखिम न्यूनीकरणमा समुदायको सक्रिय सहभागिता र स्थानीय पूर्व तयारीलाई सुदृढ बनाउने उद्देश्यले कञ्चनपुरमा समुदायमा आधारित पूर्वसूचना प्रणाली सम्बन्धी तीन दिने तालिम सुरु भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोरको आयोजना तथा दोधारा चाँदनी र कृष्णपुर नगरपालिकाको समन्वयमा सुरु भएको तालिममा सामुदायिक विपद् व्यवस्थापन समिति र पूर्वसूचना कार्यदलका सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको छ् । तालिमको उद्देश्य र औचित्य बारे जानकारी दिदै एनएनएसडब्ल्यूए, जलवायू उत्थानशील समुदाय परियोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत गोविन्द नारायण उपाध्यायले तालिममा पूर्व सूचना प्रणालीको परिचय, महत्व, चरणहरु, जोखिम पहिचान, सूचना प्रवाह, सरोकारवाला बीच समन्वय तथा प्रतिकार्य तयारी बारे जानकारी प्रदान गरिने बताउनुभयो ।

उहाँले तालिममा नमूना बाढी र वर्षामापन केन्द्रको अवलोकन सहित व्यवहारिक पक्ष पनि समेटिएको बताउदै यसबाट सहभागीलाई प्रत्यक्ष रुपमा सिकाईमा हुने अपेक्षा गर्नुभयो । प्रशिक्षक तथा नेपाल रेडक्रम सोसाईटी, कञ्चनपुरका मन्त्री तथा दोधारा चाँदनी नगरपालिकाका पुर्व विपद् श्रोत ब्यक्ती रघुनाथ भट्टले पूर्व सूचना प्रणालीलाई व्यवहारमा उतार्न सकेमा बाढी तथा अन्य प्राकृतिक विपद्बाट हुने मानवीय तथा भौतिक क्षतिलाई कम गर्न सकिने बताउनुभयो । उहाँले अघिल्लो वर्षको आरीघोप्टे वर्षालाई उदाहण दिदै, त्यति बेला पूर्वसूचना प्रणाली प्रभावकारी रुपमा कार्यान्वयन गरिएकाले अग्रिम प्रतिकार्य सम्भव भई ठूलो मानविय क्षतिबाट जोगिएको स्मरण गर्नुभयो ।

नेपाल रेडक्रम सोसाईटी, कञ्चनपुरका प्रमुख मनोज उप्रेतीले तालिमलाई समुदाय भित्र चेतना अभिवृद्धि र कार्यगत सक्रियता निर्माण गर्ने सशक्त अभ्यास भएको बताउनुभएको छ् । उहाँले स्थानीय स्रोत र संयन्त्रको अधिकतम उपयोग गर्दै दीगो पूर्व तयारीको अभ्यासमा समुदायको क्षमता विकास गर्न यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । तालिमको अन्तिम दिन सहभागीहरुबाट पूर्व सूचना प्रणालीको दीगो कार्य योजना निर्माण गरिनेछ, जसले भविष्यमा थप संगठित र सक्रिय प्रतिकार्य सुनिश्चित गर्नेछ् ।

तालिमलाई केवल जानकारीको आदान–प्रदानमा सीमित नभई, समुदायको पूर्व तयारी क्षमतालाई व्यवहारमा रुपान्तरण गर्ने ठोस प्रयासका रुपमा हेरिएको छ् ।






