पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका स्थित कुतियाकवर क्षेत्रमा पर्ने जगबुडा नदीमा कलर कोड सहितको गेज मिटर स्थापनाको प्रक्रिया सुरु भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, मर्सिकोर नेपाल तथा स्थानीय पालिका संगको सहकार्यमा जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले कुतियाकवर बस्ती र जगबुडा नदीमा कलर कोड सहितको गेज मिटर स्थापनाको प्रक्रिया सुरु गरेको हो । नदीको सतहको स्तर अनुसार बाढीको जोखिम संकेत गर्न हरियो, पहेलो, सुन्तला र रातो रङ्ग मार्फत जनचेतना फैलाउने उद्देश्य राखेको छ् । गेज मिटर स्थापनाका लागि सर्वे कार्य सम्पन्न गरिएको छ् ।

जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले कुतियाकवर बस्ती र जोगबुडा नदीमा कलर कोड सहितको गेज मिटर स्थापना गर्न लागिएको बनाउनुभयो । उहाँले हरियो रङ्गले सामान्य अवस्था, पहोलो रङ्गले सतर्क रहनुपर्ने अवस्था, सुन्तला रङ्गले तयारी अवस्थामा रहनुपर्ने अवस्था र रातो रङ्गले तुरुन्त सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्नुपर्ने अवस्था दर्शाउने बताउनुभयो । पानीको सतहको अवस्था बारे स्थानीयलाई सजिलै बुझ्न मद्दत पुग्ने विश्वास गर्नुभयो ।

कुतियकवर बस्ती बाढीको उच्च जोखिममा रहेको क्षेत्र भएकाले समुदायलाई बाढी वा डुवानको जोखिम बारे समयमै जानकारी दिने उद्देश्यले गेज मिटर स्थापना गर्न लागिएको स्थानियबासी पुरन बहादुर सुनारले बताउनुभएको छ् । उहाँले पूर्वसूचना प्रवाह र बस्तीबासीहरुलाई समयमै सुरक्षित आश्रयस्थल तर्फ सर्न सहयोग हुने उहाँले बताउनुभयो ।

रंग संकेतयुक्त गेज मिटर स्थापनाले बाढीको जोखिमबाट समयमै सतर्क रहन सक्ने प्रणालीको आधार तयार गर्छ, जसले कुतियाकवर जस्ता जोखिमयुक्त क्षेत्रका बासिन्दाको ज्यान र सम्पत्ति जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताईएको छ् ।
समुदायको सुरक्षा र सजगताको दिशामा यो एक दूरदर्शी जीवनरक्षक पहल सावित हुने अपेक्षा गरिएको छ् ।






