पप्पु गुरुङ्ग, दोधारा । बाढी तथा प्राकृतिक विपद्को उच्च जोखिममा रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद् जोखिम न्यूनिकरण तथा प्रतिकार्य क्षमता अभिवृद्धिका लागि नगर प्रहरी लक्षित तिन दिने तालिम सुरु भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, मर्सिकोर, निड्स नेपाल तथा अक्सफामको संयुक्त आयोजना तथा दोधारा चाँदनी नगरपालिकाको समन्वयमा तालिमको आयोजना गरिएको हो । तालिममा १५ जना नवगठित नगर प्रहरीको सहभागिता रहेको छ् । बाढीजन्य जोखिम बढ्दो अवस्थामा रहदा नगर प्रहरीको तत्काल प्रतिक्रिया क्षमतालाई सशक्त बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक संस्थाहरुले जनाएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का सुद्दढ परियोजना संयोजक राजकुमार सुनारले दोधारा चाँदनी नगरपालिका बाढीको उच्च जोखिममा रहेको क्षेत्र भएकाले मनसुनको सुरुआत संगै नगर क्षेत्रमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो ।

आवश्यकताका आधारमा नगर प्रहरीलाई लक्षित तिन दिने तालिम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाको सभा कक्ष्मा आयोजित तालिमको उद्घघाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, उपप्रमुख गंगा जोशी, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्र, नगर प्रबक्ता हरिसिंह धनाडी, शाखा प्रमुखहरु, नेपाल रेडक्रस सोसाईटी लगाएत विभिन्न संघ–संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो । उद्घघाटन समारोहमा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्को अवस्थामा नगर प्रहरी अग्रपंक्तिमा खटिने भएकाले उनीहरुको दक्षता अभिवृद्धि अति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले हाल मनसुन सुरु भईसकेको उल्लेख गर्दै आगामी केही महिना संवेदनशील हुने बताउनुभयो ।

यस्तो अवस्थामा नगर प्रहरीलाई व्यवहारिक तालिम दिएर समुदायको सुरक्षामा खटिन दक्ष बनाईदै गएको जानकारी उहाँले दिनुभयो । नेपाल रेडक्रस सोसाइटी, दोधारा उपशाखाका सभापति राजेन्द्र मल्लले दोधारा चाँदनी जस्तो संवेदनशील क्षेत्रमा विपद् व्यवस्थापनका लागि स्थानीय संरचना र जनशक्तिलाई सक्षम बनाउनु अत्यावश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले नगर प्रहरीहरु समुदायमै रहने भएकाले व्यवहारिक तालिमले उनीहरुको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय तहमा विपद् जोखिम न्यूनिकरण तथा प्रतिकार्य क्षमतामा सुधार ल्याउने उद्देश्यले सुरु गरिएको तालिमले दोधारा चाँदनी जस्तो उच्च जोखिमयुक्त क्षेत्रमा अत्यन्तै सान्दर्भिक र समय सापेक्ष पहल बनेको छ् ।
नगर प्रहरीहरुलाई व्यवहारिक सीप र ज्ञानले सशक्त बनाउदै तालिमले विपद् व्यवस्थापनमा उनीहरुको भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ् ।






