पप्पु गुरुङ्ग, दोधारा । जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट समुदायलाई सचेत गराउने उद्देश्यले “तातो हावाको प्रभाव न्यूनीकरणसम्बन्धी जनचेतनामुलक अभिमुखीकरण सम्पन्न भएको छ। सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्नातक तह, मानविकी संकायअन्तर्गत विकास अध्ययन विषय, आठौँ सेमेस्टरका विद्यार्थी र उत्थानशील युवा सञ्जालको संयुक्त आयोजनामा “तातो हावाको प्रभाव न्यूनीकरणसम्बन्धी जनचेतनामुलक अभिमुखीकरण सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूलाई तातो हावाको जोखिम, यसबाट हुने प्रभावहरू, तथा अनुकूलनका उपायहरूबारे जानकारी दिइएको थियो।

उत्थानशील युवा सञ्जालका सदस्य प्रकृती भट्टले जलवायु परिवर्तनको असरले निम्तिएको तातो हावाको प्रभावबाट बालबालिका, वृद्धवृद्धा साथै जोखिममा रहेका समुदायहरूलाई लक्षित गर्दै श्रव्य-दृश्य सामग्री प्रयोग गरेर व्यापक रूपमा जनचेतना फैलाउने अभियान थालिएको बताउनुभयो। उहाँले स्थानीय तहमा जलवायु अनुकूलनका उपायहरू अपनाउन सामुहिक प्रयास अपरिहार्य रहेको तर्क गर्नुभयो। सञ्जालले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र भीमदत्त नगरपालिकासँगको सहकार्यमा शैक्षिक संस्था तथा समुदायमा सचेतना अभिवृद्धिका लागि वृहत् जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को सभाहलमा सम्पन्न कार्यक्रममा संस्थागत विकास तथा मानव संसाधन व्यवस्थापक बिनोद बिक्रम जैरूले संस्थागत परिचय तथा फिल्ड कार्यसम्बन्धी अभिमुखीकरण गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई संस्था, यसको कार्यक्षेत्र, जलवायु अनुकूलनसँग सम्बन्धित कार्यक्रमहरू र स्थानीय तहमा चलिरहेका अभियानहरूबारे जानकारी प्रदान गर्नुभएको थियो।

यस कार्यक्रमलाई विद्यार्थीहरूको इन्टर्नशिप कक्षाको पहिलो दिनको रूपमा समेत प्रयोग गरिएको थियो। कार्यक्रममा उत्थानशील युवा सञ्जालका प्रतिनिधि, विश्वविद्यालयका विद्यार्थीहरू, स्थानीय युवाहरू, सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. दिपक चन्द्र भट्ट, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का प्रतिनिधिहरू तथा सामाजिक कार्यमा सक्रिय व्यक्तिहरूको उल्लेखनीय सहभागिता थियो।
