विपद् जोखिम न्यूनीकरणमा समुदायको सक्रियता, चेतना र पूर्वतयारीमा जोड

पप्पु गुरुङ्ग, दोधारा । विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायलाई तयारी र प्रतिकार्यमा सचेत गराउने उद्देश्यले कञ्चनपुरको दोधारा चाँदनीमा तातो हावाको प्रभाव तथा आगलागी सम्बन्धी कृत्रिम नमुना घटना अभ्यास सम्पन्न गरिएको छ् । महाकाली सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजना, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीएको सहजीकरण तथा दोधारा चाँदनी नगरपालिकाको समन्वयमा दोधारा चाँदनी–१० स्थित ओमकार आधारभूत विद्यालयमा अभ्यास सम्पन्न भएको हो । कार्यक्रम मार्फत आगलागीका सम्भावित घटनाबाट हुने क्षति न्यूनीकरण गर्ने उपाय बारे स्थानीयलाई जानकारी दिने प्रयास गरिएको थियो । समुदायका सदस्यहरुले नाटक मार्फत तातो हावाको प्रभाव र आगलागीका सम्भावित अवस्थाहरु प्रस्तुत गर्दै यस्ता विपद्का बेलामा अपनाउनु पर्ने व्यक्तिगत तथा सामूहिक सावधानीका उपायहरुबारे जानकारी दिएका थिए ।

साथै, सशस्त्र प्रहरी बलले घरमा ग्यास सिलिन्डरमा आगलागी भएमा कसरी तत्काल नियन्त्रण गर्न सकिन्छ भन्ने व्यावहारिक अभ्यास समेत देखाएका थिए । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यक्रम संयोजक राज कुमार सुनारले समुदायको प्रत्यक्ष सहभागितामा गरिएको अभ्यास सकारात्मक रहेको बताउनुभयो । यस्ता अभ्यासले जोखिम न्यूनीकरणमा समुदायको भूमिका स्पष्ट बनाउने र विपद्का बेला आत्मनिर्भर भएर प्रतिकार्य गर्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत बिकले विपद् व्यवस्थापन स्थानीय तहको प्राथमिकता भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता अभ्यासलाई निरन्तरता दिईदै आएको बताउदै, समुदायमा चेतना र क्षमता अभिवृद्धिका लागि यस्ता अभ्यासहरु प्रभावकारी हुने धारणा राख्नुभयो । महाकाली सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक विष्णा देवी शाहीले स्थानीय स्तरमै यस्तो अभ्यास सञ्चालन हुदा सहभागीहरुलाई प्रत्यक्ष अनुभव र व्यवहारिक ज्ञान प्राप्त हुने बताउनुभयो । यस्तो अभ्यासले विशेषत: महिलाहरु र बालबालिकालाई विपद्का बेला सुरक्षित रहन आवश्यक सतर्कता र सहकार्यको अभ्यास गर्न मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

यस्ता अभ्यासहरुले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका प्रयासलाई बलियो बनाउने मात्रै होईन, दीर्घकालीन रुपमा समुदायलाई विपद् प्रतिकार्यमा सक्षम बनाउने अपेक्षा लिईएको छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक संघ–संस्था, विपद् व्यवस्थापन समिति र स्थानीयवासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

ताजा समाचार

spot_img