पप्पु गुरुङ्ग, दोधारा । निड्स नेपाल र अक्सफाम नेपालको आयोजनामा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढी सम्बन्धी कृत्रिम घटना नमुना अभ्यास गरिएको छ् । निड्स नेपाल र अक्सफाम नेपालको स्कोपआरथ्री परियोजना अन्तर्गत समुदाय स्तर बाढी कृत्रिम घटना नमुना अभ्यास सम्पन्न गरिएको निड्स नेपालको स्कोपआरथ्री परियोजनाका फिल्ड अफिसर अधिकृत दिव्य पण्डितले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ९, ढकनाघाट नजिक महाकाली नदीमा कृत्रिम घटना नमुना अभ्यासमा सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, खोज उद्धार टोली, नगरप्रहरी, नेपाल रेडक्रस सोसाईटी, स्थानियबासीहरुको उपस्थिती रहेको उहाँले बताउनुभएको छ् । वर्षा नजिकिदै गएकाले बाढी र डुबान जस्तो विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षति कम गर्न कृत्रिम घटना अभ्यास गरेर सम्बन्धित सबैलाई तयारी अवस्थामा राखिएको जिविकोपार्जन अधिकृत दिव्य पण्डितले बताउनुभयो ।


बाढी र डुबान जस्ता विपदबाट हुने क्षति न्यूनीकरणका लागि हरेक वर्ष पूर्व तयारी स्वरुप दोधारा चाँदनी नगरपालिकाको महाकाली नदीमा विपद्को कृत्रिम घटना अभ्यास गरिएको उहाँले बताउनुभयो । कृत्रिम घटना अभ्यासले उद्धारकर्मीहरुको क्षमता वृद्धि हुने र भएका कमीकमजोरीलाई सुधार गर्न मिल्ने हुदा तयारी अभ्यास गरिएको फिल्ड अफिसर दिव्य पण्डितले बताउनुभएको छ् । दोधारा चाँदनीको तटीय क्षेत्रमा रहेका गाँउ बस्तीहरु बाढीको उच्च जोखिममा रहेको हुदा बाढी विपद्को बेलामा कृत्रिम अभ्यासले पूर्व तयारी र जनचेतना जगाउन ठुलो सहयोग गर्दै आएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका मन्त्री रघुनाथ भट्टले बताउनुभएको छ् । अभ्यासबाट दक्ष जनशक्तिको सीप प्रदर्शन र उपलब्ध उद्धार सामग्री चुस्तदुरुत रहने कुरा उल्लेख गर्दै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कृत्रिम घटना नमुना अभ्यास निरन्तर गर्दै गईरहेको उहाँले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाको बाढीग्रस्त भनेर चिनिने कुतियाकवर, शान्ती टोल, अठार नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, पटरा खल्ला लगाएत बस्तीहरु बाढीको उच्च जोखिममा रहेको र उक्त बस्तीमा बसोबास गर्ने बस्तीलाई लक्षित गर्दै कृत्रिम घटना नमुना अभ्यासहरु सञ्चालन गरिदै आएको उहाँले बताउनुभयो ।

यस वर्ष पनि सरदर भन्दा बढी वर्षा हुने अनुमान मौसम विभागले गरेको हुदा बाढी र डुबान पनि बढी हुने सम्भावना रहेकाले बाढीबाट क्षति कम गर्नका लागि समुदाय स्तरमा कृत्रिम घटना नमुना अभ्यास सुरु गरेको बताईएको छ् ।






