विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधिक सम्बन्धी बैठक, समन्वयमा आधारित कार्य योजना

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा थप प्रभावकारिता ल्याउन विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्ने तयारी थालेको छ् । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुको सभापतित्वमा सञ्चालन भएको विपद् पुर्व तयारी प्रतिकार्य योजना अध्यावधिक सम्बन्धी बैठकमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), नक्सा प्रालि. र निड्स नेपाल कञ्चनपुरका प्रतिनिधी, सुरक्षाकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । बैठकमा हालको विपद् जोखिम अवस्थाको समीक्षा गर्दै विगतका योजनाहरुको प्रभावकारिता मूल्याकंन गरिएको छ् । सहभागी सरोकारवालाहरुले भूगोल, जनघनत्व, नदी कटान, र जलवायु परिवर्तनका कारण दोधारा चाँदनी उच्च जोखिमयुक्त क्षेत्रका रुपमा चिनिएको हुदा योजनागत तयारीमा समयमै सुधार आवश्यक रहेको बताएका छन् ।

विपद् सम्पर्क व्यक्तिको संयोजकत्वमा एक प्राविधिक समिति गठन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका विपद् फोकल पर्सन अमृत बिकले बताउनुभएको छ् । प्राविधिक समितिले हालको योजना पुनरावलोकन गरी आवश्यक अद्यावधिकका लागि सुझाव दिने र प्रारम्भिक कार्य योजना तयार गर्ने जिम्मेवारी पाउने उहाँले बताउनुभयो । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन अद्यावधिक योजना अपरिहार्य रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का सुद्दढ परियोजनाका पुर्व सुचना तथा पुर्व प्रतिकार्य अधिकृत भोजराज भट्टले बताउनुभएको छ् ।

बैठकमा सहभागी संस्थाहरुले यस कार्यलाई समयमै निष्कर्षमा पुर्‍याउन आफ्नो सहकार्य र सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका छन् । नगरपालिकाले अब केही दिन भित्रै समिति सक्रिय रुपमा कार्यमा जुट्ने र आगामी हप्ता पहिलो चरणको योजना मस्यौदा तयार पार्ने लक्ष्य लिएको छ् ।

यस प्रक्रियाबाट निर्माण हुने अद्यावधिक योजना पालिकाको नीति निर्माण, बजेट विनियोजन र आकस्मिक प्रतिकार्यमा महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ् ।

ताजा समाचार