गृहमन्त्री लेखकको चासो र मेयर बोगटीको सक्रियताःसहमति भएको २ दिनमै विमानस्थल कालोपत्रे कार्य शुरु

महेन्द्रनगर : भिमदत्त नगरपालिका वडा नं. १६ स्थित मझगाँउ विमानस्थल कालोपत्रेको कार्य शुरु भएको छ । बुधवार नगरप्रमुख पदम बोगटीले भूमि पुजन गरी कालोपत्रेको कार्य शुभारम्भ गरिएको हो ।

दुई दिन अगाडी नगरप्रमुख बोगटीको कार्यकक्षमा विमानस्थल निर्माण तथा विस्तार कार्यमा देखिएका समस्या समाधानका लागि सरोकारवालाहरुसंग छलफल, सहमती भएको थियो । सहमती भएको दुई दिन नबित्दै विमानस्थलको कालोपत्रेको कार्य शुरु भएको हो । केहि साता अगाडी गृहमन्त्री रमेश लेखकले समेत संस्कृती, पर्यटन नागरिक उड्ययनमन्त्री बद्रि पाण्डेय, मन्त्रालयका सचिव, नेपाली सेनाका प्रमुख प्रधानसेनापती लगाएतसंग विमानस्थलको रनवेका लागि आवश्यक जग्गा प्राप्ती लगाएतका निर्माण कार्यमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय छलफल गरेका थिए ।

गृहमन्त्री लेखकको चासो, चिन्ता र नगर प्रमुख बोगटीको सक्रियताले विमानस्थल निर्माण तथा विस्तार कार्यमा देखिएका समस्या समाधानका विषयमा सरोकारवालाहरु विच सहमती भएपछि कालोपत्रेको कार्य तिव्र रुपमा अगाडी बढेको हो । ‘विमानस्थल निर्माण तथा विस्तार कार्यमा देखिएका समस्या गृहमन्त्रीज्यू लगाएत, प्रदेश सरकार, सम्बन्धित निकायहरु, स्थानिय सबैको सहयोगले समाधानका लागि सहमती भएपछि कालोपत्रेको कार्य अगाडी बढेको छ ।’ नगरप्रमुख बोगटीले भने ‘जनताहरुको लामो समयदेखिको सपना साकार पार्न विमानस्थल विस्तार अपरिहार्य छ । सबै सरोकार पक्षको सहकार्यले अब यो कार्य तिव्र गतिमा अघि बढ्छ र चाडै यहाँ परिक्षण उडान हुन्छ ।’ उनकाअनुसार विमानस्थल क्षेत्रभित्रका जग्गा व्यवस्थापन तथा हाल नेपाली सेनाले प्रयोग गरिरहेको क्षेत्रलाई वैकल्पिक रूपमा व्यवस्थित गरी विमानस्थल विस्तार कार्यलाई तिव्रता दिने सहमति सरोकारवालाहरु विच भएपछि कालोपत्रेको कार्य अगाडी बढेको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका कार्यवाहाक मुख्यमन्त्री एवम् आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले मझगाउँ विमानस्थल सुदूरपश्चिमको विकासको लागि महत्वपूर्ण पूर्वाधार भएको बताए । ‘तीन वटै तहको सरकारको सहकार्यमा निर्माण भइरहेको यस विमानस्थलमा आज कालोपत्रेको काम शुरु हुनु खुशीको कुरा हो ।’ उनले भने ‘निर्माण सम्पन्न भएपछि यहाँको आर्थिक, सामाजिक र पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्नेछ ।’ संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत लागतमा विमानस्थल निर्माण भइरहेको छ । तीन तहकै सरकारको साझेदारी निर्माण भइरहेको यो विमानस्थल देशकै पहिलो विमानस्थल हो ।

भूमी पुजन तथा कालोपत्रे कार्यको निरिक्षणमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहोरा, भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशी, प्रमुख जिल्ला अधिकारी, वडाध्यक्षहरु, उद्योग वाणिज्य, होटेल व्यवसायी संघ, पर्यटन व्यवसायीका प्रमुख एवम् प्रतिनिधि, विमानस्थल आयोजनाका आयोजना प्रमुख, लगायत स्थानियको सहभागिता रहेको थियो ।

ताजा समाचार