भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन सम्बन्धी पालिका स्तरिय अन्तरक्रिया दोधारा चाँदनीमा सम्पन्न

दोधारा । ‘सुधारौ सोच, संस्कार र व्यवहार : नियन्त्रण हुन्छ भ्रष्टाचार’ नारा सहित कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख तथा सहसचिव बेद प्रसाद भण्डारीको अध्यक्षता तथा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले स्थानीय सरकारको सुशासन प्रवद्र्धन गर्न यस प्रकारको अन्तरक्रिया कार्यक्रमले सहयोग पुग्ने बताउदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु राष्ट्र प्रति जिम्मेवार भई नैतिक दायित्व वहन गर्दै सदैव सुशासन, पारदर्शीका साथै नियमको परिधिमा रही काम गर्नु पर्ने बताउनु भयो ।

भ्रष्टाचारले मानिसको मान, सम्मान तवाह हुने र राष्ट्रको लगानी दुरुपयोग हुने भएकोले सजग हुनुपर्ने उहाँले बताउनु भयो । भ्रष्टाचार रोक्न सरोकारवाला, नागरिक समाज लाग्नुपर्ने नगर प्रमुख किशोर कुमार लिम्बुले आग्रह समेत गर्नुभएको छ् । स्वास्थ्य संस्था, खानेपानी संस्था, वन लगाएतमा अनावश्यक उजुरी हाल्नेहरु विकास निर्माणमा बाँधा पुर्‍याएकोले अनावश्यक उजुरी गर्नेलाई दण्ड जरिवाना गराउनुपर्ने उहाँले बताउनुभयो । भ्रष्टाचारकाको अवधारणा, भ्रष्टाचारको कारण, भ्रष्टाचार कसूर ठहरिदा हुने सजाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य गर्ने शैली, भ्रष्टाचार सम्बन्धी विश्व र नेपालको अवस्था, भ्रष्टाचारको प्रवृत्ति, भ्रष्टाचार सम्बन्धी भ्रम र वास्तविकताको बारेमा अन्तरक्रिया गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख तथा सहसचिव बेद प्रसाद भण्डारीले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभाव समेत दिएका थिए । साथै सहभागीबाट उठेका विभिन्न प्रश्नहरुको जवाफ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरका प्रमुख बेद प्रसाद भण्डारीले जवाफ दिनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीहरु, कार्यपालिका पदाधिकारी, विषयगत शाखाका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, उपभोक्ता समितिका पदाधिकारीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img