पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरमा प्रभावमा आधारित विपद् पूर्वानुमान कार्यविधि अद्यावधिक कार्यशाला सम्पन्न भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए को सहयोगमा, जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा प्रभावमा आधारित विपद् पूर्वानुमान सम्बन्धी कार्यविधि अद्यावधिक कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा प्रभावमा आधारित विपद् पूर्वानुमान सम्बन्धी कार्यविधि अद्यावधिक गर्ने आवश्यकता बमोजिम कार्यशालाको आयोजना गरिएको बताउनुभयो ।

उहाँले कार्यविधि अद्यावधिकका लागि सरोकारवालाहरु संग छलफल गरिएको बताउदै यसले आगामी दिनमा पूर्व तयारी र विपद् जोखिम न्यूनीकरणमा थप टेवा पुर््याउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय कुमार शाहले गत वर्षको बाढीले सिकाईको पाठ र अनुभवका आधारमा, साथै महाकाली नदिको चार लेन पुल र परिगाँउको जल मापन केन्द्रहरुको चेतावनी तथा खतराको तह अद्यावधिक गरिएकाले कार्यविधि अद्यावधिक गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले विभाग संग भएको प्रविधी अनुसार प्रभावमा आधारित पूर्वानुमान प्रक्रियामा विस्तृत छलफल पछि कार्यविधिको संशोधन गरिएको जानकारी दिनुभयो ।

कार्यशालामा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता हरि सिँह धनाडीले विभिन्न संघ–संस्थाहरुको सहयोगले दोधारा चाँदनी नगरपालिकाले विपद् व्यवस्थापनको क्षेत्रमा राष्ट्रमै उत्कृष्ट कार्य गर्न सकेको तर्क गर्नुभयो । उहाँले कार्यशालामा उठेका कुराहरुका आधारमा कार्यविधीलाई संशोधन सहित अर्को बैठकमा पेश गरिने साथै कार्यपालिकाबाट निर्णय गरिने बताउनुभयो ।

कार्यशालामा स्थानीय तहका जनप्रतिनिधी, जल तथा मौसम विज्ञान विभाग, नेपाल राष्ट्रिय समाज कल्याण संघ, पत्रकार साथै सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । कार्यविधि अद्यावधिक पश्चात् स्थानीय तहमा प्रभावमा आधारित पूर्वानुमान प्रणाली साथै स्थानीय आपतकलिन कार्य संकलन केन्द्रलाई सुदृढ गर्दै आगामी दिनमा विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ् ।






