राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ स्थीत सनवोरा नदीमा जैविक तटबन्ध निर्माणको कार्य अगाडी बढाईएको छ । नदीले वर्षेनी गर्दै आएको भू क्षयको कार्य नियन्त्रण गर्नका लागि जैविक तटबन्ध निर्माणको कार्य अगाडी बढाईएको हो । ग्वाविन जाली र ढुङ्गाको प्रयोग गरी निर्माण गरिने तटबन्ध भन्दा जैविक तटबन्ध सस्तो र भरपर्दो हुने भएकाले वर्षातमा नदीको बाढीले जग्गा कटान गर्ने कार्य रोक्नका लागि निर्माण गरिदै आएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनु भयो ।

“विगत सात वर्ष देखि नदीमा जैविक तटबन्ध निर्माणको कार्य हुदै आएको छ” उहाँले भन्नुभयो, “यस वर्ष पनि वडाबाट रु एक लाख ८६ हजार बजेट विनियोजन गरी एक सय ७५ मिटर लामो जैविक तटबन्ध उपभोक्ता समिति मार्फत निर्माण कार्य भैरहेको छ ।” यहि लम्बाईको ग्याविन जालीको प्रयोग गरी बनाईने तटबन्ध निर्माण गर्दा रु ३० लाख बढी खर्च लाग्ने उल्लेख गर्नु हुदै उहाँले जैविक तटबन्ध निर्माण निकै सस्तो हुने गरेको बताउनु भयो । जैविक तटबन्ध निर्माण कार्यमा संलग्न उपभोक्ता समितिका सदस्य आसाराम चौधरीले वडाले प्रदान गरेको रकमबाट बाँस खरिद गर्न, ढुवानी गर्न, ड्रिल गर्न र बाँसका चोया बाध्ननका लागि खर्च भैरहेको बताउनु भयो ।

जैविक तटबन्ध निर्माणमा स्थानिय बासिन्दाले श्रमदान गरी निर्माण कार्यलाई टेवा पुरयाउने कार्य गरेको उहाँले उल्लेख गर्नु भयो । जैविक तटबन्ध निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पाँच जना श्रमिकलाई पनि खटाईएको छ ।
खटाईएका श्रमिकले रु ५० हजार एक सय बरावरको १५ दिन सम्म कार्य गर्ने प्राविधिक टेकेन्द्रप्रसाद भट्टले बताउनु भयो ।
“जैविक तटबन्धलाई बलियो बनाउनका लागि बाँसका चोया बाँधेको ठाउको विच विच भागमा बोरीमा बालुवा भरेर राख्ने कार्य गरि रहेका छौं” उहाँले भन्नुभयो, “तटबन्ध निर्माण गरिएको ठाउमा गहिरो जरा हुने घाँस प्रजातीका विरुवा रोपेर थप बलियो बनाउने कार्य गरिने छ ।”

तटबन्धलाई बलियो र भरपर्दो बनाउनका लागि दैनिक अनुगमनको कार्य हुदै आएको वडा सचिव श्याम चौधरीले बताउनु भयो । वडाले प्रत्येक वर्ष जैविक तटबन्ध निर्माणका लागि बजेट विनियोजन गरी निर्माण कार्य गर्दै आएको छ । सात वर्षको अबधिमा दातृ निकाय संगको साझेदारीमा वडा कार्यालयले झण्डै एक हजार मिटर लम्बाईका जैविक तटबन्ध निर्माणको कार्य गरेको छ । जैविक तटबन्ध निर्माणको कार्यले स्थानिय किसानको जग्गा भू क्षय हुनबाट जोगिनुका साथै नदीले वर्षेनी कटान गर्दै आएको जग्गा जोगिएको छ ।






