कञ्चनपुर: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशको टोलीले फागुन १३ गते जिल्ला कारागार कञ्चनपुरको हिरासत कक्षको अनुगमन सम्पन्न गरेको छ ।

अनुगमन टोलीमा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशी, प्रलेख अधिकृत कृष्ण बहादुर विश्वकर्मा तथा कञ्चनपुर जिल्ला प्रतिनिधि लिली कुँवरको सहभागिता रहेको थियो । टोलीले कारागारभित्र रहनुभएका कैदीबन्दीहरूसँग प्रत्यक्ष संवाद गरी कारागारको जनशक्ति, कैदीबन्दीहरूको संख्या, सुरक्षा स्थिति तथा अन्य समस्या सम्बन्धी जानकारी लिएको थियोे ।
अनुगमनका क्रममा कारागारका सहायक प्रमुख रामदत्त जोशीले ‘ङ’ श्रेणीको जिल्ला कारागार, कञ्चनपुरमा २० महिलासहित ९५ जनाको क्षमताभन्दा बढी कैदीबन्दी रहनु परेको जानकारी गराउनु भयो । उहाँले कारागार सुधारका विषयमा पटक-पटक अनुरोध गरिए तापनि सम्बन्धित निकायबाट अपेक्षित ध्यान नदिइएको बताउनुभयो ।
त्यसैगरी कारागार जीर्ण अवस्थामा रहेकाले वर्षा भएको बेला भवन चुहिने समस्या रहेको तथा ठाउँ अभावका कारण कैदीबन्दीहरूले पाल टाँगेर बस्नुपर्ने बाध्यता रहेको नाइके टेकराज जोशीले जानकारी गराउनु भयो । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले कारागारलाई सुधार गृहका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै कारागारभित्र रहनुभएका कैदीबन्दीहरूको समस्या समाधानका लागि सम्बन्धित निकायसमक्ष आवश्यक पहल गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
