महेन्द्रनगर : नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले भीमदत्त नगरपालिका–३ स्थित श्री बैजनाथ माध्यमिक विद्यालय, तिलकपुरमा अध्ययनरत गरिब तथा विपन्न परिवारका विद्यार्थीहरूलाई विद्यालय पोशाक सहयोग गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरू पनि विद्यालयमा समान अवसरका साथ नियमित रूपमा अध्ययन गर्न सकून् र विद्यालय पोशाकको अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको भट्टले बताए ।

उनले शिक्षा समाज रूपान्तरणको महत्वपूर्ण आधार भएकाले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित हुन नहुने धारणा व्यक्त गरे । आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा आफ्नो तर्फबाट सक्दो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए । विद्यालय परिवारले भट्टको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेको छ ।











