१३औँ पटक फाइनलमा चुकेको नेपाल, म्यानमार बन्यो च्याम्पियन

कञ्चनपुर: नेपालमा आयोजित चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा १३औं पटक फाइनलमा चुकेपछी नेपाल म्यानमार च्याम्पियन बनेको छ। फाइनलमा घरेलु टिम नेपाललाई २–० ले गोलको अन्तरले हराउँदै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको हो।

नेपाली महिला टिम १३औँ पटक उपविजेतामा सीमित बनेको छ । लगातार नेपालले सन् १९९६ यता ३४ वर्षमा १३ फाइनल खेले पनि हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । फाइनलको संघर्षरत यात्रालाई सफलतामा बदल्न बाट भने यो पटक पनि चुकेको छ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १५ हजार ५६८ दर्शकमाझ सम्पन्न खेलमा दुवै गोल म्यानमारले दोस्रो हाफमा गरेको हो ।

खेलको ६२औँ मिनेटमा यु फर खिनले गोल गर्दै म्यानमारलाई अग्रतामा राखेकी हुन् । लेफ्ट साइड बक्सभित्रबाट खिनले गरेको ‘चिप’लाई नेपाली टिमकी गोलकिपर एन्जिलाले ठम्याउन सकिनन् । त्यसको दुई मिनेटपछि नै म्यानमारले अग्रता दोब्बर बनायो ।

६४औँ मिनेटमा म्यानमारकी विन थेइंगी तुङले गोल गर्दै म्यानमारले अग्रता दोब्बर बनाइन् । यसपछि थप गोल नहुँदा म्यानमार च्याम्पियन बनेको हो । त्यसअघि खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

त्यसअघि खेलको २४औँ मिनेटमा नेपाली रक्षक विमला बिकले उत्कृष्ट बचाउ गर्दै नेपालको खतरा टारिन् । गोलकिपर एन्जिलासमेत बिट भएर पोस्ट खाली हुँदा म्यानमारकी सान थ्व थ्वले गरेको प्रहारलाई विमलाले शरीरले रोकिन् ।

३५औँ मिनेटमा सावित्रा भण्डारी साम्बाको प्रहारलाई म्यानमारको गोलकिपर म्यान नेइनले विफल बनाउँदा नेपालले अग्रताको सुनौलो अवसर गुमायो । रेखाले पेनाल्टी बक्स बाहिरबाट निकालेको बलमा सावित्राले ‘वान भर्सेस वान’ अवस्थामा गरेको प्रहार नेइनले उत्कृष्ट बचाउ गरिन् । खेलको ४४औँ मिनेटमा राइट साइडबाट रेनुका नगरकोटेले निकालेको क्रसमा बक्सभित्र रहेकी सावित्राको हेडर ‘कनेक्ट’ हुन नसक्दा नेपालले अग्रता अर्को सुनौलो अवसर खेर फाल्यो ।

दुई टिमबीच लिग चरणमा भएको खेल २–२ को बराबरी खेलेको नेपालले फाइनलमा पराजित बन्यो। प्रतियोगिताको लिग चरणमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनलमा आएका हुन् । चार देशको सहभागिता रहेको प्रतियोगितामा लेबनान र कीर्गिस्तान भने लिग चरणबाटै बाहिरिएका थिए ।

ताजा समाचार