बंगलादेश : एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा नेपालले पहिलो खेल उज्बेकिस्तानसँग खेल्ने छ ।

बङ्गलादेशको ढाकामा एसियन एम्पुटी फुटबल च्याम्पियनसिप २०२५ शुक्रबारदेखि सुरु भएको हो । च्याम्पियनसिप खेल्न बङ्गलादेश पुगेको नेपाली एम्पुटी पुरुष राष्ट्रिय टिमले पहिलो खेलमा माघ २६ गते शनिबार (फेब्रुअरी ८) बिहान ११:३० बजे उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपाल टिमका टिम कप्तान डिल्ली बहादुर बिष्टले भने “पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पुगेको उक्त नेपाली टिमले लिगका चार खेलमा सुखद नतिजा ल्याउने अपेक्षा राखेको छु । अन्य देशको तुलनामा हेर्ने हो भने नेपाली टोली पनि बलियो नै रहेको छ ।” दोस्रो खेल नेपालले बङ्गलादेशसँग माघ २७ गते बिहान ११:३० बजे, तेस्रो खेल माघ २८ गते दिउँसो ३ बजे इराकसँग र अन्तिम खेल २९ गते दिउँसो ३ बजे इन्डोनेसियासँग खेल्ने प्रतियोगिताको खेल तालिका रहेको छ ।

एम्पुटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका र एउटा हात नभएका ) खेलाडी हरूले खेल्ने खेल हो । एम्पुटी खेलकुद समाज नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ । प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बङ्गलादेश, इरान, इराक र उज्बेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहने भनिए तापनि इरानको सहभागिता नहुँदा ५ राष्ट्र बिच प्रतिस्पर्धा हुने छ ।
