सोनाम ल्होछारको अवसरमा पुनर्वासमा सांस्कृतिक कार्यक्रम हुने

कञ्चनपुर: नेपाल तामाङ घेदुङ संघ जिल्ला कार्यसमिति कञ्चनपुरको आयोजनामा विविध सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम माघ १७ गते पुनर्वासमा भव्यताका साथ हुने भएको छ।

खुला मञ्च, आई.बी.आर.डी. बजार पुनर्वासमा बिहान १० बजेबाट साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यक्रम तामाङ समुदायको नयाँ वर्ष २८६१ औं सोनाम ल्होछार (डुल/सा पुख्री ल्हो) को अवसरमा आयोजना गरिएको हो।

कार्यक्रममा राष्ट्रिय कलाकार किर्तिमान तामाङ, बिसान पाख्रिन तथा स्थानीय कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति रहनेछ। यसका साथै विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य प्रायोजक पुनर्वास नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय रहेको छ भने प्रमुख प्रबन्धकका रूपमा पुनर्वास नगरपालिका र दोश्रो प्रबन्धकका रूपमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्, पुनर्वास नगरपालिका, कञ्चनपुरको भूमिका रहनेछ।

नेपाल तामाङ घेदुङ प्रदेश सचिवालयका लालमन तामाङले कार्यक्रमले तामाङ समुदायको कला, संस्कृति, परम्परा तथा एकताको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रमुख अतिथिका विषयमा छलफल भइरहेको छ।

जिल्ला सचिव श्रीमाया गुरुङले कार्यक्रमले तामाङ समुदायबीचको सद्भाव, संस्कृति तथा पहिचानलाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभएको छ। आयोजकले सम्पूर्ण समुदायलाई कार्यक्रममा सहभागी भई यसलाई सफल बनाउन आग्रह गरेको छ।

ताजा समाचार