शुक्लाफाँटाका तीन हजार बढी किसोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने


झलारी : शुक्लाफाँटा नगरपालिकाका तीन हजार एक सय एक किसोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाईने भएको छ । माघ २२ गते देखि फागुन ६ गते सम्म सञ्चालन हुने खोप अभियान अर्न्तगत किसोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने भएको हो ।

कक्षा ६ देखि १० मा पढदै आएका दुई हजार छ सय ७७ मध्ये कक्षा ६ मा पढने पाँच सय ५७ र कक्षा ७ देखि १० मा पढने दुई हजार एक सय १७ किसोरीलाई खोप लगाउने योजना नगरपालिकाको स्वास्थ्य शाखाको रहेको छ । विद्यालय बाहिरका १० वर्ष देखि १४ वर्ष उमेर समुहका चार सय २७ किसोरीहरुलाई पनि अभियान अर्न्तगत खोप लगाईने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताउनु भयो ।

“विश्व क्यान्सर दिवसको अवसर पारेर किसोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानको शुरुवात गर्छौ” उहाँले भन्नुभयो, “चालिस सामुदायिक र संस्थागत विद्यालयका किसोरीहरुलाई खोप लगाउनका लागि महिला स्वयंसेवीका, विद्यालयका शिक्षक, शिक्षिका, स्वास्थ्यकर्मीलाई परिचालन गर्छौ ।” विद्यालय संगै अतिरिक्त अन्य १२ वटा खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको छ । खोप अभियानका लागि ४० जना स्वास्थ्यकर्मी र एक सय दुई जना स्वयंसेवक खटाउने तयारी गरिएको छ ।

केन्द्रबाट तीन हजार चार सय किसोरीलाई खोप लगाउने लक्ष्य नगरपालिकालाई दिएको छ । हरेक वर्ष एक सर्भेक्षण अनुसार नेपालमा दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । पाठेघरको मुखको क्यान्सरबाट मात्रै वर्षमा एक हजार तीन सय १३ महिलाको मृत्यु हुने गरेको छ । औषतमा प्रत्येक दिन चार जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान गरिएको छ । ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका विरामीहरु र मृत्यु हुने सङख्या न्यून आय भएका र मध्यम आय भएका परिवारका महिलाहरु बढी रहने गरेका छन ।

अभियानका क्रममा किसोरीहरुलाई लगाईने एचपिभी खोप ९८ प्रतिशत देखि सय प्रतिशत सम्म प्रभावकारी रहेको बताईएको छ । अध्ययन अनुसार, यो खोप १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एक मात्रा लगाएपछि यसको पूर्णमात्रा हुन्छ । विगतमा एक मात्रा एचपिभी. खोप लगाएका किशोरीहरूले अर्को मात्रा लगाउन जरुरी नरहेको स्वास्थ्य शाखा प्रमुख भट्टको भनाई रहेको छ । पहिलो पटक आव ०७२/७३ र ०७३/७४ मा दुई वर्ष चितवन र कास्की जिल्लामा एचपिभी खोप सेवा सञ्चालन गरिएको थियो । गर्भवती महिला,पहिला कुनै खोप लगाउँदा विगतमा गम्भीर एलर्जी प्रतिक्रिया भएको वा एनाफाईलेक्सिस प्रतिक्रिया भएका व्यक्ति, एचपिभी. खोपमा भएका कुनै तत्वबाट विगतमा गम्भीर एलर्जी प्रतिक्रिया भएको वा एनाफाईलेक्सिस प्रतिक्रिया भएका व्यक्तिलाई खोप लगाइने छैन ।

एचपिभी खोप सेवाको लक्षित समूह महिनावारी सुरुवात हुने उमेरका किशोरीहरू हुने भएकोले उनीहरुलाई खोप अभियानकै क्रममा महिनावारी स्वास्थ्य र सरसफाइवारे जानकारी दिने व्यवस्था गरिने बताईएको छ । नगरपालिकाको वडा वडा सम्म खोप अभियान बारे जानकारी दिनका लागि स्वयंसेवक परिचालन गरिने प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले बताउनु भयो । नगर प्रमुख रण बहादुर महराले महिलाहरुको स्वास्थ्य संग जोडिएको बिषय भएकाले खोप अभियानलाई सफल बनाउनका लागि सबै क्षेत्रबाट सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।

खोप लगाउने लक्षित समुहका कोही पनि नछुटुन भनेर स्वास्थ्यका नगर कार्यालय देखि वडा कार्यालय सम्मका सबै युनिटहरुलाई परिचालन गरिने बताउनु भयो । पाठेघरको मुखको खोप अभियान सञ्चालन गर्नका लागि नगरपालिकाले रु चार लाख १० हजार बजेट विनियोजन गरेको छ । खोपको महत्व र अभियान बारे अभिमुखिकरण कार्यक्रम गरी नगरपालिकाले जनप्रतिनिधि र सञ्चारकर्मीलाई जानकारी गराएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img