महेन्द्रनगर: सुदूरपश्चिम प्रदेशको कैलालीमा राष्ट्रिय फुटबल टीमका क्याप्टेन किरण चेम्जोङ आज मंगलबार धनगढी आउने छन् ।

कैलाली जिल्ला फुटबल संघ, धनगढी एफसी र मनकामना युवा क्लव जुगेडाको सहकार्यमा आज देखि मनकामना युवा क्लवको खेलमैदानमा हुने अण्डर–१४ महिला/पुरुष फुटबल खेलाडी प्रशिक्षण कार्यक्रममा सहभागी हुन क्याप्टेन चेम्जोङ धनगढी आउन लागेका हुन।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यतामा हुने प्रशिक्षण कार्यक्रममा क्याप्टेन चेम्जोङ खेलाडीहरुको आकर्षणका रुपमा रहने कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्रले बताएका छन्। उनले भने, प्रशिक्षण कार्यक्रममा उनले खेलाडीहरुलाई आफ्नो अनुभव सुनाउनुका साथै फुटबल खेल सम्बन्धी उत्प्रेरणा प्रदान गर्ने छन।

जिल्लामा फुटबल खेलको वृद्धि विकासका लागि जिल्ला फुटबल संघले प्रशिक्षण, खेल सामग्री प्रदानलगायतका क्रियाकलापहरु गर्दै आइरहेको महासचिव मिश्रले जानकारी दिए । यसका लागि सबै सम्बन्धित संघ संस्थाहरुबीच सहकार्य हुन जरुरी रहेको छ।
