बाढी प्रभावितहरुलाई एनएनएसडब्ल्यूए र डीसीएको आईएमई मार्फत नगद रकम सहयोग

दोधारा । कञ्चनपुरको भीमदत्त नगरपालिकामा बाढीबाट पूर्ण क्षति भएका प्रभावित घर परिवारलाई आईएमई मार्फत नगद सहयोग गरिएको छ् । गत असार २२ गते देखि २४ गते सम्म परेको अविरल वर्षा संगै आएको बाढीबाट प्रभावित भएका भीमदत्त नगरपालिकाका झण्डै १ सय ५० परिवारलाई नगद सहयोग रकम वितरण कार्य सुरु गरिएको हो । भीमदत्त नगरपालिका संगको समन्वय तथा सहकार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाले बाढी प्रभावित घर परिवारलाई बहु–प्रयोजनका लागि आईएमई मार्फत प्रति घरपरिवार रु. १० हजार नगद रकम सहयोग कार्य सुरु गरेको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले भीमदत्त नगरपालिका वडा नम्बर ३, ८, १०, ११, १२, १४, १५, १६ र १७ का १ सय ५० पूर्ण क्षति भएका घरपरिवारलाई घरको मर्मत सम्भार, खाद्य सामग्री खरिद, बालबालिका लागि कपडा तथा शैक्षिक सामग्री खरिद लगाएतका बहु–प्रयोजनामा सहयोग पुर्‍याउने उद्देश्यले नगद सहयोग गरिएको जानकारी दिनुभएको छ् ।

उहाँले बाढी आएको ७२ घण्टा भित्र प्रभावितलाई सहायता प्रदान गरिसक्नु पर्ने भएपनि नगरपालिकाले बाढी पीडितको तथ्यांक उपलब्ध गराउनमा ढिलाई गरेकाले केही बिलम्ब भएको बताउनुभयो । बेलडाँडी गाँउपालिका, दोधारा चाँदनी नगरपालिका र लालझाँडी गाँउपालिकामा राहत वितरण कार्य सम्पन्न भईसकेको उहाँले बताउनुभएको छ् । रेकर्ड ब्रेक गर्ने गरि आएको वर्षापछि महाकाली नदिको बाढीबाट भीमदत्त नगरपालिका भरी झण्डै ४ सय घरपरिवार विस्तापित भएका थिए ।

भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तथा भीमदत्त नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक प्रकाश थापाले असार २४ र २५ गते अविरल वर्षा संगै आएको बाढीबाट पूर्ण क्षति भएका परिवारलाई राहत स्वरुप नगद सहयोग गरिएको बताउनुभयो । उहाँले आंशिक क्षति भएका घरपरिवारलाई समेत सहयोग गर्ने गरि छलफल भईरहेको बताउनु भएको छ् ।

बाढीले पूर्ण क्षति भएका परिवारलाई राहत स्वरुप नगद सहयोग गरेकोमा एनएनएसडब्ल्यूए र डीसीए नेपाललाई उहाँले धन्यबाद दिएका छन् ।

एनएनएसडब्ल्यूएले प्रदान गरेको नगद रु. १० हजारले घरको मर्मत सम्भार, खाद्य सामग्री खरिद, बालबालिका लागि कपडा तथा शैक्षिक सामग्री खरिद लगाएतका कार्यमा ठूलो राहत मिल्ने बाढीपिडितहरु बताएका छन् ।

ताजा समाचार