सिलाईकटाईको पेशाबाटै परिचय बनाएका झलारीका रतन


राजेन्द्रप्रसाद पनेरु / झलारी : शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा पाँच दशक अघि देखि रतन जैरुले सिलाईकटाईको कार्य गर्दै आउनु भएको छ । झलारी क्षेत्रमा आधुनिक पहिरन भित्राउनेमा उहाँ एक्लो व्यक्ति हुनुहुन्छ । सिलाईकटाई पेशाकै कारण जैरु झलारी बजारमा परिचित हुनुहुन्छ । डडेल्धुराको खलंगाबाट ५५ वर्ष अघि जैरु तराई झरेका हुन । अहिले उहाँको उमेर ६९ वर्ष पुगेको छ । “पहाडमा खान लाउनकै समस्या थियो” उहाँले भन्नुभयो, “हातमुख जोर्न कै लागि तराई झरयौं ।” तराई झरेके केही वर्ष संघर्षमै वितेको उहाँ सुनाउनु हुन्छ । पहाडमा छदा थोर थोरै सिलाई कटाईको कार्य सिकेका उहाँले तराई झरेपछि अरुको सिलाई कटाई गर्ने पसलमा पुगेर मेसिन चलाउदै गरेको, कपडा काटदै गरेको कार्य एकहोरो टकटकी रुपमा हेरि रहन्थे । त्यो बेला उहाँको उमेर १५ वर्षको थियो ।

“हेर्दा हेर्दै मेसिन चलाउन सिके, कपडा काटन सिके” उहाँले भन्नुभयो, “कपडा सिलाईकटाईको कार्य गर्ने पसलमा काम पाउन थाले, कपडा मेसिनमा सिउन थाले, ग्राहकले माग गरे अनुसारको ‘फिनिसिङ’ दिन नसक्दा भने गुनासो सुनि रहनु पर्दथ्यो ।” सीप निर्खानकै लागि भारत जाने उहाँले निधो गर्नु भयो । चिनेजानेका व्यक्तिहरुको सल्लाहमा जैरु भारतको बरेली पुगे । “बीस, बाईसकै कलिलो उमेर थियो बरेलीमा ‘टेलरिङ्ग‘को कार्य गर्ने पसलमा बसेर एक वर्ष काम गरे, काम गर्दै जाँदा सीप पनि सिकिदो रहेछ” उहाँले भन्नुभयो, “पाईन्ट र सर्ट बनाउनमा निपूण भए ।” त्यतीले मात्रै व्यवसायीक सिलाईकटाईको कार्य गर्न नपुग्ने ठानेर कोटपाईन्ट बनाउन सिक्नै लागि विसं २०३४ सालमा भारतको लखनउ उहाँ पुग्नु भयो । दुई वर्ष लखनउमा बसेर जैरुले कोटपाईन्ट बनाउनमा दक्ष बनेर स्वदेश फर्किए । एक वर्ष महेन्द्रनगर बजारमा अरुको पसल अगाडी बसेर सिलाईकटाईको कार्य गरे । त्यस पछि विसं २०३७ साल देखि झलारी बजारमा सिलाईकटाईको पसल राखेर कार्य गर्न थाले । जुन कार्य अहिले ६९ वर्षको उमेर पुगेपनि निरन्तर जारी रहेको छ । झलारी बजार क्षेत्रमै कोटपाईन्ट, सर्टमा सबै भन्दा राम्रो ‘फिनिसिङ्ग’ दिने टेलरका रुपमा उहाँ परिचति हुनुहुन्छ ।

“पहिला बजार क्षेत्रमा सिलाईकटाईको कार्य गर्ने प्रतिस्पर्धी थोरै हुदा कमाई गतिलोनै थियो” उहाँले भन्नुभयो, “महिनाको रु ५०/६० हजार माथिनै कमाई हुन्थ्यो, अहिले प्रतिस्पर्धि धेरै छन, उमेरले गर्दा पहिला जस्तो छिटो छरितो रुपमा कार्य गर्न नसकिदा पहिलोको भन्दा आधा रकममै चित्त बुझाउनु परेको छ ।” सिलाईकटाईको पेशाबाटै उहाँले चार बहिनी, पाँच भाईको विहे गर्न भ्याए । त्यस पछि झलारी बजारमा घर घरेडी जोडे । कमाई खानका लागि यसै पेशाको कमाईले चार विघा जग्गा जोडे । त्यति मात्रै नभएर दुई वटा छोरोका शिक्षादिक्षा संगै विवाह खर्च पनि सिलाईकटाईबाटै आएको पैशाले धानेको उहाँ निर्धक्क संग बताउनु हुन्छ । सीप सिकेर आत्मनिर्भरभै व्यवसायीक रुपमा कार्य गर्न थालेपछि पैशाका लागि अरु कहाँ कहिल्यै हात थाप्नु नपरेको अनुभव उहाँ संग रहेको छ ।

“उमेर ढल्कीदै गएपनि पेशालाई निरन्तरता दिदा पहिचान बनाएकै छु” उहाँले भन्नुभयो, “सबैले चिन्दछन, दलित समुदायको व्यक्ति भएपनि पेशाले गर्दा नै जातीय विभेद झेल्नु परेको छैन ।” पहिले सिलाई कटाईका कार्य दलित समुदायका व्यक्तिहरुले मात्रै गर्दथे । हाल गैरदलित समुदायले पनि यस पेशालाई व्यवसायीक बनाउदा प्रतिस्पर्धा निकै बढेको उहाँ बताउनु हुन्छ । “प्रतिस्पर्धाका विचमा जसले उत्कृष्ट कार्य गर्छ ग्राहकको मन जित्छ, त्यसले बजारमा राज गर्छ” उहाँ भन्नु हुन्छ, “उत्कृष्ट हुनका लागि ग्राहकको मन जित्न सीपमा निपूण संगै नम्र व्यवहार र इमान्दार हुनै पर्छ ।”
उहाँ भन्नु हुन्छ, “जिवन संघर्षमय छ, संघर्ष नगर्दा केही पनि सहजै प्राप्त हुदैन, त्यसैले सीप सिकेर लगनशिल भै कार्य गरे आत्मनिर्भर भइन्छ ।”


Loading Viewer...

ताजा समाचार

spot_img