नाकामा अनावश्यक जाँचले पर्यटन क्षेत्र पनि प्रभावित बन्यो : पूर्वमुख्यमन्त्री रावल

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले पश्चिमी सीमा नाकादेखि महेन्द्रनगरसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले ९ ठाउँमा गर्ने जाँचले नागरिक र पर्यटकले सास्ती भोग्नु परेको बताएका छन्। होटल व्यवसायी संघको २७ औँ वार्षिक साधारण सभा तथा १६ औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका रावलले एकीकृत सुरक्षा जाँचमा जोड दिए। ‘जनपद र सशस्त्र प्रहरीले नाकाबाट महेन्द्रनगरसम्म पुग्दा ९ ठाउँमा जाँच गर्छन्। राजश्व काट्ने काम भन्सारको हो । नाकामा जनपद र सशस्त्रले जाँच गर्न सक्छन्,’ उनले भने, ‘अनावश्यक दुःख दिने किसिमले ५ किलोमिटरको दूरीमै ९ ठाउँमा जाँच हुनुले राम्रो सन्देश गएन।’ अनावश्यक हुने जाँचले यहाँ आउने पर्यटक पनि हच्किने गरेको उनले बताए। नेपाली नागरिक किनमेलका लागि सीमावर्ती बजार बनबासा जाने गर्छन्।

पश्चिमी नाका गड्डाचौकी भएर कतिपय पर्यटकहरु नेपाल भित्रिने गरेका छन्। तर अनावश्यक हुने जाँचले उनीहरुले सास्ती भोग्नु परेको छ। यस विषयमा रावलले गृहमन्त्री रमेश लेखकको पनि ध्यानाकर्षण गराए। कसैलाई हैरानी, परेसानी दिने काम राम्रो नहुने उनको भनाइ छ। नाकामा एकीकृत सुरक्षा जाँच गरेर यसको समाधान गर्नु पर्ने उनले बताए। अधिवेशनको उद्घाटन सत्रमा बोल्ने अधिकाँस वक्ताले अनावश्यक जाँचले सास्ती भोग्नुका साथै पर्यटन क्षेत्रमा राम्रो सन्देश नगएको बताए। होटल व्यवसाय र पर्यटन एकआपसमा जोडिएको विषय भएकाले एकीकृत ढंगले राज्यले नीति बनाएर विकासमा लाग्नु पर्नेमा उनको जोड छ। यस क्षेत्रको पर्यटन विकासका लागि टुरिज्म सर्किट बनाउनु पर्ने रावलले धारण राखे।

नीतिमा बाँधिएर पर्यटनको विकास भए होटल व्यवसाय पनि फस्टाउने उनले बताए। ‘उत्तराखण्ड देवभूमि हो। सुदूरपश्चिम देवाटरी। नेपाल र भारत धार्मिक र सांस्कृतिक रुपमा जोडिएको छ,’ रावलले भने, ‘देवभूमिका मान्छेलाई देवाटरीमा ल्याउन सर्किट बनाउन जरुरी छ।’ पश्चिमी सीमा नाका गड्डाचौकीको सूचना केन्द्र धनगढी सारिएकोमा पनि रावलले आपत्ति जनाए। पश्चिमी सीमामा सूचना केन्द्र राखेर पर्यटकीय प्रचारप्रसार गर्नु पर्ने उनको भनाइ छ। होटल व्यवसायी संघ कंचनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा संघका पहिलो अध्यक्ष गंगाराम गिरीलगायतलाई सम्मान गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

ताजा समाचार