झलारी : शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटा स्थीत श्रीकृष्ण माध्यमिक विद्यालयमा शुक्रवार मनोसामाजिक स्वास्थ्य तथा लागु पदार्थ रोकथाम सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लागु औषध विरुद्ध सचेतना छर्ने उद्देश्यले वडा कार्यालयको आर्थिक सहयोगमा नेपाल हेल्पीङ हेण्डस संस्थाले कार्यक्रमको आयोजना गरेको हो ।
अभिमुखिकरण कार्यक्रमको सभापतित्व संस्थाका उपाध्यक्ष केशव सिंह ठगुन्नाले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथिमा नगरपालिकाको कार्यपालिका सदस्य सरस्वती जोशी रहनु भएको थियो भने कार्यक्रमका विशिष्ठ अतिथिमा इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बिर बहादुर बुढाऐर रहनु भएको थियो ।
अतिथिमा वडा सदस्य धिरेन्द्रप्रसाद भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक राज भट्ट, विद्यालयका प्रद्यानाअध्यापक रामदत्त जोशी,पिटिए अध्यक्ष जयानन्द जोशी, मनोविमर्सकर्ता द्वारिका कुवँर र हिराकुमारी नेपाली रहनु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई लागु औषधको कुलतमा फस्ने तरिका, अभिभावकले बालबालिकालाई कुलतबाट जोगाउनका लागि खेल्नु पर्ने भूमिका, कुलतमा फसेका बालबालिकालाई अभिभावकले चिन्ने जोगाउने तरिका र लागु औषधको कुलतमा फसेकाहरु र कारोवार गर्नेहरुलाई हुने कानुनी सजाय बारे इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बुढाऐरले जानकारी दिनु भयो । लागु औषधको कुलतमा फसेका बालबालिकालाई जोगाउनका लागि अभिभावकको महत्वपूर्ण जिम्मेवारी रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकराज भट्टले बताउनु भयो ।
विद्यालयका प्रध्यानाअध्यापक रामदत्त भट्टले विद्यालयमा अध्ययनरत मध्ये केही विद्यार्थीमा मानसिक समस्या रहेको चर्चा गर्नु हुदै मानसिक विकार हटाउनका लागि कार्यक्रमले भूमिका खेलेको बताउनु भयो । संस्थाका उपाध्यक्ष केशव सिंह ठगुन्नाले बालबालिका लहलहमा लागेर, चेतनाको कमीका कारण कुलतमा फस्ने गरेको बताउनु भयो । कुलतमा फस्न लागेका बालबालिकालाई अभिभाकले सम्झाउने बुझाउने र कुलतले निम्त्याउने समस्या बारे सजग गराउनु पर्ने बताउनु भयो ।