शुक्लाफाँटा नगरपालिका वडा नं १२ मा अव्यवस्थीत बसोवासीको जग्गा नापजाँच कार्य शुरु

नगर प्रमुख महरा र निवर्तमान नगर प्रमु ऐरले गरे जग्गा नापजाँच कार्यको संयुक्त उद्घाटन

झलारी : राष्ट्रिय भूमि आयोग अन्र्तगत शुक्लाफाँटा नगरपालिकाको भूमि सेवा केन्द्र द्वारा वडा नं १२ मा बिहीवार देखि अव्यवस्थीत बसोवासीको जग्गा नापजाँच कार्य शुरु गरिएको छ । जग्गा नापजाँच कार्यको नगर प्रमुख रण बहादुर महरा,निवर्तमान नगर प्रमुख दिल बहादुर ऐरले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ । नगर प्रमुख महराले नापजाँच कार्याको व्यानर पढेर र निवर्तमान नगर प्रमुख दिल बहादुर ऐरले दियो बालेर उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख महराले उपलव्ध साधन श्रोतलाई व्यवस्थीत पारेर जग्गा नापजाँचको कार्यलाई छिटो छरितो रुपमा अगाडी बढाईएको बताउनु भयो । उहाँले चलनभोगका आधारमा जग्गा नापजाँचको कार्य हुने भएकाले विवाद रहित तरिकाले कार्यलाई अगाडी बढाउन सबैको समन्वयको खाँचो रहेको बताउनु भयो । अबको दुई वर्ष भित्रै जग्गा नापजाँचको कार्य पुरा गरी अव्यवस्थीत बसोवासीलाई जग्गाको मालिक बनाउन जग्गाधनी पूर्जा उपलव्ध गराईने उहाँले बताउनु भयो ।

निवर्तमान नगर प्रमुख दिल बहादुर ऐरले अव्यवस्थीत बसोवासीलाई जग्गा उपलव्ध गराउनका लागि आफनै पालामा नीति नियम बनाई जग्गा नापजाँचको कार्य अगाडी बढाईएको बताउनु भयो । निर्वाचित भएर आएपछि पहिलो निर्णयनै जग्गा नापजाँचको थियो उहाँले भन्नु भयो, त्यस पछिको कार्यपालिका बैठकले कुन वडामा कहिले जग्गा नापज जाँच गर्ने भन्ने बारे निक्र्यौल गरयो, सोही अनुसार जग्गा नापजाँचको कार्य भैरहेको छ । जग्गा नापजाचको कार्यमा सहयोग र समर्थन रहेको चर्चा गर्नु हुदै उहाँले स्थानिय राजनीतिक दल, समाजसेवी, वुद्धिजिवि र जनप्रतिनिधिले सार्वजनिक जग्गा संरक्षणका लागि अग्रसर भएर आउनु पर्ने बताउनु भयो । नगर उप प्रमुख कल्पना पन्तले जग्गा नापजाँचका क्रममा विवाद भएपछि जग्गा नापजाँचको कार्य नहुने भएकाले विवाद रहित तरिकाले कार्य अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो । उहाँले जग्गा नापजाँचको कार्य छिटो भन्दा छिटो अगाडी बढाउनका लागि जनशक्ति व्यवस्थापनका लागि पहल भैरहेको बताउनु भयो ।

जग्गा नापजाँचका क्रममा हुने विवाद सहजीकरणका लागि वडा अध्यक्षको संयोजकत्वमा समिति गठन भएको उल्लेख गर्नु हुदै नापी हुनु अगावै जग्गाधनीले कागजपत्र संगै संघीयारहरुलाई ल्याएर आउनु पर्ने बताउनु भयो । वडा अध्यक्ष नवल सिंह रानाले आइवार देखि निरन्तर रुपमा नापीको कार्यलाई अगाडी बढाउनका लागि आवश्यक चाँजोपाँजो मिलाईएको बताउनु भयो । उहाँले टोल अनुसार पालै पालो एक जना पनि नछुटने गरी जग्गा नापजाँचको कार्य हुने बताउनु भयो । छुटेका व्यक्तिहरुको हकमा आयोगले तोके अनुसार, कानुनी पक्ष संगै स्थानिय स्तरमै मिलाउन सकिने भए त्यही अनुसार कार्य अगाडी बढाईने बताउनु भयो । निवर्तमान वडा अध्यक्ष वाले रानाले वर्षौ देखिको वडा बासीको जग्गाको मालिक बन्ने सपना जग्गा नापजाँचको कार्य अगाडी बढे संगै पुरा हुने संभावना बढेर गएको बताउनु भयो । नगरपालिकाको भूमि व्यवस्था शाखाका प्रमुख मोहन फुलाराले जग्गा धनीहरुको लगत कम्प्युटरमा प्रविष्ट गर्ने कार्य पुरा भएको उल्लेख गर्नु हुदै चलनभोगका आधारमा जग्गा नापजाँच हुने बताउनु भयो ।

वर्षौ देखि जग्गा चलन भोग गर्दै आएका बासिन्दालाई जग्गाको मालिक बन्ने अवसर प्राप्त भएको बताउनु भयो । नापी टोलीका सदस्य हेमराज अबस्थीले जग्गा नाप जाँचका क्रममा देखिने विवाद समाधानका लागि सहजिकरण टोलीले विशेष सहयोग गर्नु पर्ने बताउनु भयो । सार्वजनिक जग्गा, नदी तटीय क्षेत्र, मठ मन्दिर, आर्यघाट लगायतको जग्गा व्यक्तिको नाममा ननापीने बतउनु भयो । कार्यविधिले तोके अनुसार नदीको क्षेत्र छोडेर मात्रै जग्गा नापजाँच हुने उहाँको भनाई थियो । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका धौल सिंह महरा, नेकपा एमालेका पार्वती भाट, नेकपाा माओवादी केन्द्रका श्रवण चौधरी, राप्रपाका मोहन जोशी लगायतका जग्गा नापजाँचको कार्यमा सहयोग पुरयाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नगरपालिकाका वडा नं १,२,३ र ९मा जग्गा नापजाँचको कार्य पुरा भएको छ भने, वडा नं ५ मा पुरानो आयोगको बाँकी काम पुरा गरेर जग्गा धनी पूर्जा वितरणको तयारी थालिएको छ ।

ताजा समाचार