झलारी : दादुरा – रुवेला विरुद्धको खोप अभियान सञ्चालनका लागि शुक्लाफाँटा नगरपालिकामा मंगलवार एक दिवसीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले गोष्ठिको औचित्य बारे सहभागीहरुलाई जानकारी गराउनु भयो । गोष्ठीमा खोप अभियान बारे जानकारी दिनु हुदै उहाँले फागुन १३ गते देखि २१गते सम्म सञ्चालन हुने अभियानमा नगरपालिकाको ६८ खोप केन्द्र मार्फत नियमित खोप पाई रहेका र खोप लगाउनबाट छुटेका १५ हजार आठ सय ८४ बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिईन लागेको बताउनु भयो । अभियानमा अन्र्तगत खोप केन्द्रमा एक सय ३६ महिला स्वयंसविका र ६८ जना स्वास्थ्यकर्मीलाई परिचालन गरिन लागेको छ ।

एक खोप केन्द्रमा स्वास्थ्यकर्मी सहित तीन जनालाई खटाईने उहाँले बताउनु भयो । खोप केन्द्र स्वास्थ्य चौकी, विद्यालय नजिकका क्षेत्रमा राखिएका छन । अभिभावक बालबालिकालाई खोप दिन चाहने भएपनि अभियान बारे जानकारी नपाउदा बालबालिका खोपबाट बञ्चित भएको विगतको अभियानमा पाईएकाले त्यसो हुन नदिनका लागि सचेतीकरण अभियानलाई घर दैलो सम्म पुरयाउने कार्यमा जुटेको उहाँले उल्लेख गर्नु भयो । खोप अभियान बारे जानकारी दिनका लागि विद्यालय मार्फत अभिभावकलाई निमन्त्रण कार्ड पठाउने कार्य गरिएको उहाँको भनाई रहेको छ । “हामीले विद्यालयमा निमन्त्रणा कार्ड पठाएका छौं” उहाँले भन्नु भयो, “शिक्षकले विद्यालयमा पढने बालबालिका मार्फत अभिभावक सम्म कार्ड पुरयाउने कार्य गर्नु भएको छ ।” खोप अभियान कार्यक्रम सञ्चालनका लागि नगर स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी सम्पन्न भएको उहाँले बताउनु भयो ।

गोष्ठीलाई वडा सम्म पुरयाएर अभियान बारे जानकारी दिने कार्य भैरहेको उहाँले जानकारी दिनु भयो । “गोष्ठीमा दादुरा–रुबेला खोप अभियानमा नियमित खोप सेवा सुदृढीकरण गर्नेवारे जानकारी गराउने कार्य भैरहेको छ” उहाँले भन्नु भयो, “खोप लगाउन छुट हुने समुदाय, वर्ग, स्थानको पहिचान गरी ती सबैलाई खोप प्रदान गर्ने कार्यनीति अवलम्बन गर्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन, सल्लाह र सुझाव दिने कार्य गरिएको छ ।” दादुरा– रुवेला निवारणका लागि कम्तीमा ९५ प्रतिशत बालबालिकालाई खोप लगाउने लक्ष्य लिईएको स्वास्थ्य शाखाका प्रमुख भट्टले बताउनु भयो । “दादुरा– रुवेला खोपका लागि गरिएको विगतको सर्भेक्षणमा कञ्चनपुरको शुक्लाफाँटामा दुई र कृष्णपुर नगरपालिकामा ३८ जना बालबालिकामा दादुराको संक्रमण देखिएको थियो” उहाँले भन्नु भयो, “बसाई सराईका कारण भारत लगायत अन्य क्षेत्रबाट आएका बालबालिकामा दादुरा–रुवेलाको संक्रमण भएको सर्भेक्षणमा पाईएको थियो ।”

इट्टा भट्टामा कार्य गर्ने व्यक्ति, मुक्त कमैंया, सुकुम्बासी, भारतमा मौसमी बसाई सर्ने लगायत परिवारका बालबालिका अभिभावक संगै कार्य गर्ने क्षेत्रमा जाने भएकाले पूर्ण खोप सुनिश्चितता हुन चुनौती रहेको उहाँको भनाई रहेको छ । नगर प्रमुख रण बहादुर महराले खोपको पहुँच पुरयाउन नसकिएका बालबालिकालाई खोप लगाउनु चुनौती पूर्ण रहेपनि सबैको सहकार्यमा यस अभियानमा सफलता हासिल हुने विश्वास व्यक्त गर्नु भयो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले खोप लगाउनबाट छुट भएका चार प्रतिशत बालबालिकालाई खोप केन्द्रमा ल्याएर खोप नलगाए सम्म अभियान सार्थक नहुने बताउनु भयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्ट, कार्यपालिका सदस्य र सञ्चारकर्मीको सहभागीता रहेको थियो ।






