महेन्द्रनगर : मानव बेचबिखन र बालश्रम शोषण रोकथामकालागि बजेट बिनियोजन गर्न माग गरिएको छ । सोमवार कृष्णपुर नगरपालिका र भिमदत्त नगरपालिकामा निगरानी समुहका पदाधिकारीहरुको सहभागितामा आफन्त नेपालले स्थानीय सरकारले आफ्नो योजना तथा बजेटमा मानव बेचबिखन तथा बालश्रम शोषण लगायत लैङ्गिक हिंसाको रोकथाम तथा जोखिममा रहेका तथा परेकाको संरक्षणकालागि आगामी आर्थिक वर्ष २०८१÷८२ को लागी कार्यक्रम तर्जूमा गरी बजेट बिनियोजन गर्न ज्ञापन पत्र बुझाई माग गरेको हो । आफन्त नेपालको ज्ञापन पत्र बुझदै, भिमदत्त नगरपालिकाका उप–प्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक निलम लेखक जोशीले बिगतमा पनि महिला र बालबालिका लक्षित कार्यक्रमकालागि बजेट बिनियोजन गरेको बताउदै, ‘मानव बेचबिखन जघन्य अपराध भएकोले मानव बेचबिखन र बालश्रम शोषण रोकथामकालागि भिमदत्त नगरपालिकाले आगामी आर्थिक बर्षकालागि पनि कार्यक्रम तर्जुमा र बजेट बिनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो’ । उहाँले आफन्त नेपालले गरिरहेको कार्यको प्रशंसा गर्दै भन्नु भयो, यस पटक बेचबिखन बिरुद्ध काम गर्ने संस्थाहरु संग छलफल गरेर मानव बेचबिखन बिरुद्ध के कस्ता कार्यक्रमहरु तय गर्न सकिन्छ त्यस्ता कार्यक्रम तर्जुमा र बजेट बिनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गर्दै समयमै ज्ञापन पत्र पेश गरी ध्यानाकर्षण गराएकोमा आफन्त नेपाल संस्थालाई धन्यवाद दिनु भयो ।
त्यसै गरी भिमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बहादुर बमले मानव बेचबिखन र बालश्रम शोषण रोक्न आगामी आर्थिक बर्षकालागि समुदाय स्तरमा जनचेतना अभिबृद्धि गर्ने खालका कार्यक्रम तर्जुमा गरी बजेट बिनियोजन गर्न सकिने बताउनु भयो । महिला लक्षित कार्यक्रममा सशक्तिकरण, सीपबिकास र आयआर्जन गर्ने कार्यक्रमका अतिरिक्त मानव बेचबिखन र बालश्रमशोषण रोकथामकालागि पनि छुट्टै शिर्षकमा कार्यक्रम तर्जुमा गरिने बताउनु भयो । त्यसैगरी कृष्णपुर नगरपालिकामा उप–प्रमुख द«ोपती रानाले ज्ञापन पत्र बुझ्दै बालश्रम शोषण रोकथाम र मानव बेचबिखन न्युनिकरणकालागि नगरपालिकाबाट योजना तर्जुमा गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उहाँँले गत आर्थिक बर्षमा महिला लक्षित कार्यक्रम, महिला हिंसा बिरुद्ध कार्यक्रम र बालबालिका लक्षित कार्यक्रम अन्तरगत बिभिन्न उप–शिर्षकमा कार्यक्रम र बजेट बिनियोजन गरेको बताउँदै आगामी आर्थिक बर्षकोलागि कार्यक्रम योजना तर्जुमा गर्दा मानव बेचबिखन रोकथाम र बालश्रम शोषणको सवाललाई प्राथमिकता दिईने बताउनु भयो ।
उहाँले, मानव बेचबिखन तथा ओसार पसार जस्तो जघन्य अपराध नियन्त्रण गर्न र बालश्रम शोषण रोकथामकालागि सरकारी र गैरसरकारी संघसंस्थाहरु बिच समन्वय र सहकार्य गरी अगाढी बढ्नुपर्ने समेत बताउनु भयो । कृष्णपुर नगरपालिकामा नगर उप–प्रमुख द«ोपती राना, प्रमुख प्रशासकिय अधिकृत मान बहादुर केसी, महिला बिकास निरिक्षक माला गौतम लगायतको उपस्थिति रहेको थियो । आगामी आर्थिक बर्षकोलागि बजेट निर्माणको पहिलो चरण सुरु भई सरकार बजेट निर्माणको पुर्व तयारीमा रहेको अवस्थामा मानव बेचबिखन र बालश्रम शोषण रोकथाम गर्नकालागि कार्यक्रम तर्जुमा र बजेट बिनियोजन गराउन सरोकारवालाको ध्यानाकर्षण गरी उहाँहरुको प्रतिवद्धता लिने उद्धेश्यले ज्ञापन पत्र बुझाईएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए । मानव बेचबिखन तथा बालश्रम शोषण रोकथाम गर्न सरकारको मुख्य भुमिका रहने बताउदै उनले भने, ‘मानव बेचबिखन तथा बालश्रम शोषण मानव अधिकारको जघन्य उल्लघंन मात्र नभई संगठित अपराध पनि भएको हुनाले यसलाई नियन्त्रण र रोकथाम गर्न ‘सरकारी तथा गैर सरकारी सरोकारवालाहरूको सामुहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले स्थानिय सरकारले नियन्त्रणकालागि चालेका हरेक कार्यक्रम सफल बनाउन आफन्त नेपाल सदैव सहयोग र समन्वय गर्न तयार रहेको कार्यक्रम अधिकृत नेपालीले बताए । दुवै पालिकामा ज्ञापन पत्र बुझाउने प्रतिनिधिमण्डलमा आफन्त नेपालका कर्मचारी, निगरानी समुहका पदाधिकारीहरु र समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।