भीमदत्त नगरपालिकाका वडा–वडामा नि: शुल्क आँखा शिविर सञ्चालन

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडा–वडाहरुमा नि:शुल्क आँखा शिविर सञ्चालन भइरहेको छ । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल(पेसवान)संगको समन्वय तथा च्यारिटि हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोगमा भीमदत्त नगरपालिकाका वडा–वडामा निशुल्क आँखा शिविर सञ्चालन भइरहेको पेसवानका सदस्य दमन चन्दले बताए ।

नगरप्रमुख पदम बोगटीले पेसवान संगको समन्वयमा र च्यारिटि हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोगमा वडाहरुमा निशुल्क आँखा शिविर सञ्चालन भइरहेको र शिविरमा निशुल्क रुपमा आवश्यकता अनुसार चस्मा, औषधी र अप्रेसन समेत भइरहेको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले बताए । उनकाअनुसार हालसम्म भीमदत्त नगरपालिकाका वडा नम्बर १, २, ३, ५, ७, ८, १०, १३, १४, १६, १७ र १९ मा निशुल्क आँखा शिविर सञ्चालन भइसकेको छ ।

बाकीँ वडामा समेत शिविर सञ्चालन हुने नगरप्रवक्ता अवस्थीले बताए । उक्त कार्यमा पेसवानका उपाध्यक्ष पशुपती थापा मगर सहितको टिमलाई सबैले सहयोग गरिदिन नगरप्रवक्ता अवस्थीले आग्रह गरे । पेसवानले यसअघि समेत भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क शैक्षिक पोसाक झोला वितरण गरेको थियो ।

ताजा समाचार