झलारी : उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसर पारेर शुक्लाफाँटा नगरपालिका ११ अमपुरमा मंगलवार सरोकारवाला निकायका लागि दुई दिने पैरवी कार्यक्रमको आयोजना गरिएको छ । ‘उपेक्षित उष्णप्रदेशीय रोगको निवारण सहकार्य र एकता हाम्रो उद्धाहरण’ भन्ने नारा सहित सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटी दिपायलको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा कैलालीका १३ र कञ्चनपुरका नौ गरी २२ जना मेडिकल अधिकृत, चिकित्सक र स्वास्थ्यकर्मीको सहभागीता रहेको छ । कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाटाँ नगरपालिका ११ का वडा अध्यक्ष शेर बहादुर साउदले स्वास्थ्य क्षेत्र सुरक्षा र चुनौतीका हिशावले संवेदनशिल रहेको बताउनु भयो । “तराई क्षेत्रमा किटजन्य रोगको प्रकोप निकै बढी हुदा पहाडी क्षेत्रबाट झर्ने व्यक्तिहरु यहाँ बस्न डराउने गर्दथे” उहाँले भन्नु भयो, “हिउदमा बसेर गर्मी शुरु नहुदै पहाड फर्कन्थे, मलेरिया नियन्त्रणका लागि कार्य भएपछि तराई क्षेत्र बस्नका लागि लायक भएको हो ।”

उहाँले रोग लाग्न नदिनुनै बुद्धिमता हुने बताउनु भयो । स्वास्थ्यको समस्यालाई मध्यनजर गरी वडा कार्यालयका तर्फबाट प्रत्येक वर्ष बजेट विनियोजनको कार्य संगै भौतिक पूर्वाधार, जनशक्ति थप्ने कार्य हुदै आएको बताउनु भयो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका किटजन्य अधिकृत हेमराज जोशीले उपेक्षित उष्णप्रदेशिय रोगको अबस्थाका बारेमा कार्यक्रमका सहभागीहरुलाई जानकारी दिनु भयो । उहाँले विभिन्न प्रकारका भाईरस,ब्याक्टेरिया, परजीवी, ढुसी र बिषक्त पदार्थका कारणले उष्णप्रदेशमा बस्ने व्यक्तिहरुलाई असर गर्दै आएको बताउनु भयो । व्यक्ति विरामी मात्रै नभएर ज्यान समेत जाने गरेको छ । रोगलाई उपेक्षित गरेकै कारण बल्झीदै व्यक्तिको ज्यान जाने गरेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका किटजन्य अधिकृत( कार्यक्रमका फोकल पर्सन) जोशीले बताउनु भयो । उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको उपेक्षित उष्णप्रदेशीय रोगहरुको सूचिमा २१ रोगहरुको समुह सूचिकृत गरिए पनि नेपालमा हाल सम्म ११ वटा रोगहरु मात्रै पाईएको छ ।

जसमा डेंगु र चिकनगुनिया,रेबिज, ट्रकोमा(खस्रे रोग) कुष्ठरोग, कालाजार, टेनियासिस र न्युरोसिस्टाइसर्कोसिस (फिते जुका), हात्तीपाईले, माटोवाट सर्ने जुका, माइसेटोमाक्रोमोब्लास्टोमाइकोसीस, अन्य डीप माइकोसेस, सर्पदंश, लुतो र अन्य इक्टोपारासाईट लगायत रहेका छन । “यस्ता रोगहरुबाट विश्वमा एक अर्ब बढी मानिसलाई प्रत्येक वर्ष असर पर्ने गरको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ” उहाँले भन्नु भयो, “नेपालमा पनि यी रोगको संक्रमणबाट वर्षेनी लाखौं व्यक्तिहरु प्रभावित हुने गरेका छन, सुदूरपश्चिममा यी रोगहरुको संक्रमण वर्षेनी झनै बढने गरेको छ,रोग निदानका प्रयास पनि हुदै आएका छन ।” यी रोगहरु मुख्यतया प्रयाप्त सरसफाईको कमी, रोगबाहक संक्रामककिटहरु, घरपालुवा जनावरहरु संग नजिकको सम्पर्कमा रहने व्यक्तिहरु संगै गरिविको रेखामूनी रहेका व्यक्तिहरुबढी जोखिमा रहने गरेको फोकल पर्सन जोशीले बताउनु भयो । उपेक्षित उष्णप्रदेशीय रोग दिवस प्रत्येक वर्षको ३० जनवरीमा मनाईदै आएको छ । शुक्लाफाटा नगरपालिका ११ दीपनगर आधारभूत स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका किटजन्य रोग अधिकृत सिद्धराज भट्ट र विश्व स्वास्थ्य संगठनका प्रकास देउवाले सहजीकरण गरि रहनु भएको छ ।











