काठमाडौँ : काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन् । ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो । महिला तथा बालबालिकामा हुने हिंसाको विषयमा केन्द्रित रहेको नाटकले आँखै अगाडी हिंसा हुँदा पनि चुपचाप रहने समाजको प्रवृत्तिमाथि व्यङ्ग्य गरेको छ । मिथकीय पात्र गोमालाई प्रतिनिधि पात्रका रूपमा उतारेर समाजमा अनगिनत महिला तथा बालबालिका हिंसाको सिकार बन्नु परेको तितो सत्यबारे नाटक बोलेको छ । कथाको लयसँग दृश्यहरूमा अभिनयमा निकै बलियो रूपमा उपस्थिति जनाएको छ। अभिनय, बिम्ब, प्रयुक्त प्रप्स, प्रकाश, चित्रकला र सङ्गीतको निकै सशक्त प्रस्तुति देख्न सकिन्छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2023/12/414165387_6393992077366908_8951093065575542548_n-300x167.jpg)
नाटकभित्र मिथक र समकालीन समयको संयोजन छ । श्री स्वस्थानी व्रत कथामा सात वर्षिया गोमाको विवाह ७० वर्षीय वृद्धसँग भएको प्रसङ्गलाई लिएर आजको समयसँग यसको लेखाजोखा गरिएको छ । वर्तमानलाई मिथकसँग जोडिरहन सूत्रधार ( रसिक राज) मार्फत गरिएको संवादले दर्शक दुवै समयप्रति सचेत बनिरहन्छन् । ‘गोमा कहाँ छिन् ?’ भनेर प्रश्न गर्दै गर्दा गोमालाई इङ्गित गदै आम दर्शकतिर गरिएको इशाराले सिङ्गो समाजलाई प्रतिनिधित्व गरिएको छ । नाटक हेरेर सामाजिक सञ्जालमा मिसन अधिकारी लेख्छन्, ‘यो नाटकले गम्भीर दर्शकको माग गर्दछ ! नाटक हेरिरहँदा कतै ऐनामा आफ्नै अनुहार त आउँदैन भन्ने भय दर्शकमा पैदा हुन्छ । मनोरञ्जनको लागि मात्र नभएर आफ्नै परिवार, आफ्नै समाजको अँध्यारो पक्षसित परिचित हुन नाटकले अपिल गर्छ । आफैँसित संवाद गर्नलाई हेर्ने हो यो नाटक । ‘
नाटक हेरेपछि दर्शक सरल विक्रम शाह भन्छन्, यो नाटकले म स्वयमनै यो नाटकको पात्र हु भन्ने महसुस गराउँछ। पात्रहरूको परिचय गराउने तरिका निकै नवीन छ। गोमा पात्र अचानक दर्शकहरूबाट उठ्दा निकै तरङ्गित महसुस हुन्छ। नाटकले आफूलाई कोट्याउन बाध्य पार्छ।
![](https://esudurdarpan.com/wp-content/uploads/2023/12/414008614_6393986694034113_7507663147881797306_n-300x200.jpg)
![](https://esudurdarpan.com/wp-content/uploads/2023/12/415000313_915441236674686_1377011701294025835_n-229x300.jpg)
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)