व्यवसायीक तरकारी खेतीमा रमाउदै राजनीतिकर्मी गणेश

राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ५ खजुवाका ४५ वर्षीय गणेश बहादुर साउद गाउँमा राजनीतिकर्मी रुपमा परिचित छन । राजनीति समाजसेवा संगै उहाँ सफल किसानका पनि हुन । साउदले स्वामित्वको १५ कठ्ठा जग्गामा व्यवसायीक रुपमा तरकारी खेती गर्दै आउनु भएको छ । उहाँको बारीमा गोलभेडा, हरियोसागपात, आलु, खुर्सानी, भाण्टा लगायतको तरकारी रोपिएको छ । बीउ, जोताई, मलखाद, बिषादी, सिचाई र मजदुरमा गरी तरकारी खेती रोप्दानै रु एक लाख जति खर्च लाग्ने गरेको उहाँ बताउनु हुन्छ । “तरकारी खेतीमा लागेको खर्च अनुरुप प्रति वर्ष प्रतिफल निकै राम्रो हुने गरेको छ” उहाँले भन्नु भयो, “वर्षमा खर्च कटाएर रु पाँच लाख देखि रु सात लाख सम्म आम्दानी हुने गरेको छ ।” गत वर्ष बारीमा रोपेको टिपिएस, खुमलटार रातो, कार्डिनल लगायत जातका आलु बिक्री गरी रु एक लाख ५० हजार साउदले आम्दानी गर्नु भएको थियो । अन्य तरकारी बिक्री गरी रु पाँच लाख जतीको आम्दानी भएको उहाँले बताउनु भयो ।

उहाँ भन्नु हुन्छ, “समाजसेवामा लागेकाले घर खर्च पनि चाहिन्छ, गाउँका बासिन्दाको कार्यमा खटिनु पर्दा खर्च लाग्छ त्यो खर्च तरकारी खेतीबाट आएको पैशाबाट व्यहोर्ने गरेको छु ।” साँझ विहानको समय तरकारी खेती गोडमेल गर्ने, टिपेर बजार सम्म लगेर बेच्ने कार्यमा उहाँ संलग्न रहदै आउनु भएको छ । दिउसोको समय गाउँका कार्यक्रम, बैठक, स्थानिय बासिन्दालाई परेको अप्ठेरोमा सहयोग गर्न अगाडी सर्नु हुन्छ । “तरकारी खेती गरिए पछि आर्थिक अभाव हुदैन” उहाँले भन्नु भयो, “कसै संग हात थाप्नु परेको छैन, बरु अप्ठेरो परेका बेला अरुलाई सहयोग गर्न पाउदा सुखको अनुभूति हुन्छ ।” गाउँको पर्वत कृषि सहकारी संस्थाका उहाँ अध्यक्ष र नेकपा(माओवादी केन्द्र) का नगर सदस्य पनि हुन । सहकारीमा आवद्ध सदस्यहरुलाई तरकारी खेती, पशुपालन सम्बन्धी तालिम सञ्चालन गरी आत्मनिर्भर बनाउनेमा उहाँ लाग्नु भएको छ । आफैंबाट स्वरोजगार हुनका लागि तरकारी खेती गर्न शुरु गरेपछि आवद्ध सदस्यहरु पनि व्यवसायीक कार्यमा संलग्न हुन थालेको उहाँको भनाई रहेको छ । उत्पादन भएको तरकारी बेच्नका लागि बजारको अभाव रहेको उहाँ बताउनु हुन्छ । “तरकारी उत्पादन गर्ने किसानले कुनै बेला लागत खर्चनै नउठने गरी तरकारी बेच्नु पर्छ” उहाँले भन्नु भयो, “विचौलियाले सस्तोमा किसानबाट किनेको तरकारी व्यापारीलाई महंगोमा बेच्दा उपभोक्ताले चर्को मूल्यमा तरकारी उपभोग गर्नु पर्ने अबस्था छ ।” यसका लागि सिधै किसानबाट व्यापारीले तरकारी खरिद गर्ने वातावरण बनाईनु पर्ने उहाँको भनाई छ ।

त्यसको अन्त्यका लागि स्थानिय तह देखि प्रदेश सम्मका सम्बन्धीत कार्यालय सम्म कुरा पुगाए पनि सुनवाईनै हुन नसकेकोमा उहाँ गुनासो गर्नु हुन्छ । ९५ प्रतिशत बढी बासिन्दाको मुख्य आयको श्रोत कृषि र पशुपालन भएपनि नगरपालिकाले यी क्षेत्रलाई महत्व नदिदा किसानले नयाँ प्रविधि भित्राएर सहज रुपमा कार्य नपाएको उहाँको भनाई रहेको छ । “थोरै मात्रै बजेट विनियोजन हुदा अनुदानका कार्यक्रम सबै किसान सम्म पुग्न सकेको छैन” उहाँले भन्नु भयो, “आर्थिक समृद्धिको आधार कृषि भएपनि योजनावद्ध रुपमा काम हुन नसक्दा किसान निरुत्सहीतभै अरु पेशामा आवद्ध हुने गरेका छन ।” साउदले तरकारी खेती गर्न अघि ब्र्रोइर कुखुरापालनको कार्य पनि गर्दै आउनु भएको थियो । कोरोना महामारी फैलिए पछि बजार अभावमा कुखुरापालनको कार्य भने उहाँले छाडनु भएको छ । बजार सहज भएपछि ब्रोइलर कुखुरा पाल्ने उहाँको योजना भने छ । गणेश संगै उहाँकी श्रीमती पशुपती साउदले तरकारी खेतीमा सहयोग पुरयाउदै आउनु भएको छ । राजनीति र समाजसेवामा लागेका व्यक्तिहरुले स्वरोजगार हुनु आवश्यक भएको उहाँको भनाई छ । “स्वरोजगार भए भ्रष्ट्राचार गर्नु पर्दैन” उहाँले भन्नु भयो, “भ्रष्ट्राचार नभए सुशासन कायमभै देशलाई समृद्ध बनाउने अभियानमा सघाउ पुग्छ, यसका लागि दृढ इच्छा शक्तिको आवश्यकता पर्दछ ।”

ताजा समाचार

This will close in 10 seconds