
दोधारा । ३२ जेठ र १ असारमा कञ्चनपुर प्रहरीले दोधाराचाँदनी र भीमदत्त नगरपालिकाबाट पक्राउ गरेका अवैध मेडिकल सञ्चालकविरुद्ध मुद्दा चलाउने भएको छ ।

पक्राउ परेका सबै ११ जनाविरुद्ध मुलुकी अपराध संहिताअनुसार इलाज सम्बन्धी कसुरमा मुद्दा चलाइने मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

गत ३२ जेठमा प्रहरीले दोधाराचाँदनी नगरपालिकामा एकै दिन इजाजतविना चलाइएका नौ औषधि पसलका भारतीय सञ्चालकहरुलाई पक्राउ गरेको थियो भने १ असारमा भीमदत्त नगरपालिकाभित्रका दुई अवैध मेडिकल सञ्चालक पक्राउ परेका थिए ।

प्रहरीले दोधाराचाँदनी नगरपालिका–७ कञ्चभोजमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल सञ्चालन तथा इलाज गर्ने भारत उधमसिंह नगर खटिमाका २६ वर्षीय सञ्जय बिश्वासलाई र कञ्चभोजमैं मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल सञ्चालन तथा इलाज गर्ने भारतको पिलिभित नौजलियाका ४६ वर्षीय राजेश बिश्वासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यस्तै, दोधाराचाँदनी नगरपालिका–७ मिलन चौराहामा मेडिकल पसल सञ्चालन गरिरहेका भारतको पिलिभित महाराजपुरका ४५ वर्षीय सन्तोश सरकार र ४ नम्बर वडाको लट्ठाघाट चौराहामा मेडिकल चलाईरहेका पिलिभित रानिकलौनी पोष्ट मजौलाका ४४ वर्षीय सुधान्सु हल्दार र दोधाराचाँदनी–४ खल्ला चोकमा अवपैध मेडिकल चलाउने भारतको उधमसिंह नगर खटिमाका २३ वर्षीय रबि बिश्वास र वडा नम्बर ३ श्रेष्ठ चौराहामा मेडिकल चलाएर बसेका खटिमाकै ३२ वर्षीय कार्तिक सरकारलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले दोधाराचाँदनी नगरपालिका–१ मिलन चौराहामा अवैध मेडिकल चलाउने ३८ वर्षीये निवास गाइन, ३ नम्बर वडाको श्रेष्ठ चौराहामा मेडिकल चलाउने भारत उधमसिंह नगर खटिमा का ४९ वर्षीय निरन्जन अधिकारी र सोही वडाको देवीस्थानमा मेडिकल चलाइरहेका खटिमाका २५ वर्षीय भुपेन्द्र पुरीको पसल सिल गरी उनीहरुलाई औषधिसहित नियन्त्रणमा लिएको थियो ।
त्यस्तै, प्रहरीले १ असारमा भीमदत्त नगरपालिका–१३ बडैपुरमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल सञ्चालन तथा इलाज गर्ने सोही ठाउँका ३५ वर्षीय शान्तिरजन बैरागीलाई पक्राउ गरेको थियो ।
सोही दिन प्रहरीले भीमदत्त नगरपालिका–९ ब्रहमदेवमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल सञ्चालन तथा इलाज गर्ने भारतको जिल्ला नोदिया पोष्ट ग्राम ईटापुकुरका ३९ वर्षीय गोकुल मण्डललाई पनि पक्राउ गरेको थियो ।






