काठमाडौँ : एमाले महासचिव शंकर पोखरेलले एमाले सरकारको नेतृत्वमा पुग्दा ‘कथित नागरिक समाज’ ले सडकमा तमासा देखाउने गरेको आरोप लगाएका छन् । उनले यस्तो नागरिक समाजविरुद्ध प्रतिवाद गर्ने पार्टीको भातृ संगठन अनेरास्ववियुलाई निर्देशन दिएका छन् । मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले नेतृत्वमा सरकार हुँदा नागरिक समाजको नाममा सडकमा आन्दोलन भएका स्मरण गर्दै उनीहरूविरुद्ध लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

अरु पार्टी सरकारमा बसेर जस्ता निर्णय गर्दा पनि नागरिक समाज सडकमा नआउने तर एमाले नेतृत्वको सरकारले गरेका निर्णयविरुद्ध नागरिक समाज सडकमा आएको भन्दै एमाले महासचिव पोखरेलले उक्त अभिव्यक्ति दिएका हुन् ।’ यो मुलुकमा एउटा विडम्बनापूर्ण अवस्था छ । त्यसमा अनेरास्ववियु कतै पछाडि पर्यो कि रु जतिबेला मुलुकको बुर्जुवाहरू शासनमा हुने गर्छन् । यो समाजका कथित नागरिक समाजका अगुवाहरू सडकमा देखिने गर्दैनन् । बुर्जुवाहरूले जतिसुकै राष्ट्रलाई बर्बाद पारे पनि उनीहरू सडकमा आउने गर्दैनन् । तर जतिबेला देश र जनताको हितको पक्षमा, परिवर्तनका हितका पक्षमा, काम गर्ने पार्टीका रूपमा नेकपा९एमाले०को नेतृत्वमा सरकार बन्नेगर्छ कथित नागरिक समाज सडकमा तमासा देखाउन आइपुग्छ,ु उनले कार्यकर्ताहरूलाई भने, ‘त्यतिबेला अनेरास्ववियु सडकमा देखिनुपर्ने हो, देखिने गरेको छैन ।

अबको अनेरास्ववियु यथास्थितिवादको पक्षमा रहेका यस प्रकारका नागरिक समाजका अगुवाहरू, जसले समाजको परिवर्तन र विकासलाई रोक्नका लागि भूमिका निर्वाह गर्ने गर्छन् । त्यसका विरुद्ध वैचारिक र राजनीतिक रुपमा खडा हुन सक्ने अनेरास्ववियु आजको आवश्यकता हो भन्ने कुरालाई तपाईं हामी सबैले बुझ्नु जरुरी छ ।’ महासचिव पोखरेलले समाजमा धार्मिक अतिवाद र धर्मान्तरको नाममा आक्रमण भइरहेको भन्दै नेपाली सांस्कृतिक मूल्य, मान्यताको जगेर्ना गर्नुपर्ने पनि बताए । उनले संस्कृति रक्षाको पक्षमा उभिन पनि अनेरास्ववियुका कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘कुनै पनि राष्ट्रको भविष्य त्यसको इतिहास र त्यसको संस्कृतिको जगमा अडिएको हुन्छ । जब त्यसको इतिहासमाथि, त्यसको सांस्कृतिक मूल्यमाथि आक्रमण हुनेगर्छ ।

त्यो राष्ट्र कमजोर हुनेगर्छ । आज अनेरास्ववियुका योद्धाहरू हाम्रो समाज, संस्कृति, सांस्कृतिक मूल्य, मान्यताका पक्षमा, त्यसका रक्षाको पक्षमा उभिनसक्ने दस्ताका रूपमा खडा हुनु जरुरी छ । आज हाम्रो समाजमा धार्मिक अतिवादका नाममा, धर्मान्तरका नाममा, नेपाली सांस्कृतिक मूल्यमाथि जुन प्रकारको आक्रमण भइरहेको छ, त्यसका विरुद्ध योद्धाको रूपमा अबको अखिल आन्दोलन खडा हुनुपर्छ । त्यसले राष्ट्रलाई सुरक्षित गर्ने काम गर्छ भन्ने कुरालाई बुझ्नु जरुरी छ,’ उनले भने । एमालेको नेतृत्वमा देश चले कसैले भविष्यको बारेमा चिन्ता लिनु नपर्ने पोखरेलको दाबी थियो । उनले देशको विकास र समृद्धि एमालेको नेतृत्वबाट मात्रै हुने दाबी गरेका थिए ।
