जनताको आकांक्षा पूरा गर्न सकेमा शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली हुने : मुख्यमन्त्री रावल (भिडियो सहित)

कञ्चनपुर : समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न सकेमा शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली हुने सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बताएका छन । शहीद दिवस २०७९ को अवसरमा सन्देश जारी गर्दै उनले राष्ट्र र राष्ट्रियताको रक्षा, नागरिक स्वतन्त्रता, लोकतन्त्र र संघीय गणतन्त्र स्थापनाका निम्ति आफ्नो बलिदानी दिने ज्ञात अज्ञात अमर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन ।

विभिन्न कालखण्डमा अमूल्य जीवन आहूति दिएर सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले विकसित राष्ट्र निर्माणका लागि वीर वीरङ्गानाहरुको बलिदानलाई सम्झना गर्दै हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसको रुपमा मनाउँदै आइएको उनले उल्लेख गरेका छन । ‘महान शहीदहरुको त्यागद्धारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु,’ मुख्यमन्त्री रावलको सन्देशमा भनिएको छ।

यस दिवसले वीर शहीदहरुको बलिदानीलाई उच्च मूल्याङ्कन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सपनालाई साकार बनाउन सबैलाई मन, वचन र कर्मले समर्पित हुने प्रेरणा प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन । मुख्यमन्त्री रावल महाकाली अनाथालय र महाकाली अस्पतालमा बिरामीलाई फलफुल दिन सरिक भएका थिए । भने जिफन्टले उनलाई सम्मान गरेको छ ।

ताजा समाचार