परशुरामधाम जाने पुर्व निर्धारित योजनामा जगदीश भाईको व्रतबन्धको कार्यक्रमले झन उत्साह थपेको थियो । २०७९।९।३० मा ५ सदस्यीय टोली बाइकमा भीमदत्त न.पा. हल्दुखालबाट परशुरामका लागि अगाडी बढीरहदा व्रतबन्धमा जाने पारिवारिक टोलीले हाइसमा यात्रा प्रारम्भ गरिसकेको थियो । अत्तरीयाबाट जिल्ला नापी कार्यालय कैलालीका सर्वेक्षक महेश दत्त भट्ट काका समेत थपिदा झन रमाइलो हुदै गयो । अत्तरीयाबाट पहाड रोडको यात्रा अगाडी बढीरहदा केहीबेर गोदावरी क्षेत्र तथा मेला समेतको अवलोकन गर्यौ । सो क्षेत्रमा भेटिएका प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी सरसित समेत भलाकुसारी पश्चात सामुहिक र व्यक्तिगत फोटो लिइ सो मेला कार्यक्रम(स्नान)को शुभारम्भ सु.प.प्रदेश प्रमुख देवराज जोशीबाट हुने जानकारी साथ हामी पुरानो गोदावरी पुल पुग्यौं । पुरानो काठेपुल आजभोली आन्तिरीक पर्यटनको हव बनेकोे छ ।त्यहा समेत फोटो लिइ हामी पहाडको उकालो चढ्दै गयौं । बाटामा समसामयिक विषयका गफगाफ चलिनै रहेका थिए । बडो रमाइलो अनुभुतीसंगै हामी बुढीतोला हुदै खानीडाँडा पुग्यौं । खानीडाँडामा चिया तथा चाउमिन खाइ भासुभीर हुदै अगाडी बढ्यौं । बडो खतरनाक पहाड छ,भासुमा । तहां समेत फोटो सेसनसंगै हामी सहजपुर,फल्टुडे हुदै बुडर पुग्दा बेलुकाको करीब ४ बजीसकेको थियो । सोही दिन बुडर झरना जाने योजना समयाभावले सफल नभए पश्चात हामी सिधै बुडरबाट परशुरामधामका लागि अगाडी बढ्यौं । बाटो खतरनाक ओरालो थियोे,मोटरसाइकल नियन्त्रण बाहिर जाने सम्भावना प्रबल थियो । तत् ओरालो ठाउँ डोटीको जोरायल गा.पा.मा पर्दो रहेछ । सो पश्चात डडेल्धुराको आलीताल गा.पा.सुरु हुदो रहेछ ।
आलीतालबाट सम्म परेको भुभाग प्रारम्भ हुदो रहेछ । गा.पा.को गेटमा फोटो लिइ हामी अगाडी बढ्यौं । अलि अगाडी भीमनगर भन्ने ठाउं रहेछ । बाटामा रहेको कृष्णकालिका मा.वि.सँगै अगाडी बढीरहदा अलिक समय पश्चात हामी गोदाम भन्ने ठाउँमा पुग्यौं । गोदाम बजार भन्दा अलि अगाडीबाट आलीताल गा.पा.को केन्द्र भीमदत्तपुर जाने बाटो रहेछ । सो भन्दा अलि अगाडी बाट रंगुन नदी पारी आलीताल जानेबाटो रहेछ । रंगुन पारी करीब ३ कि.मी पश्चात मोहक आलीताल रहेछ । नदी माथी पुल नहँुदा बगरका ढुंगामाथी पानी समेतबाट यात्रा गर्नु परेको थियो । आलीतालमा फोटो लिइ, भिडियो बनाइ अगाडी बढ्यौं । मोहक ताल भएपनि मानिसको उल्लेख्य उपस्थिती नहुने जस्तो लाग्यो,सडक सुव्यवस्थाको अभाव पनि एक कारण हुन सक्छ । रंगुनवारी आइ पुर्वेली लामिछाने होटलमा डुनट,चाउचाउ र चिया खाइ हामी अगाडी बढ्यौं । तत्ठाउंमा शंकरजीले यात्राका स्मरणहरु फेसबुकमा पोष्ट्याउदा शुभेच्छुक मित्रहरुका लाइक कमेन्ट सुरु भइ सकेका थिए ।घुम्तीबजारका होटल सञ्चालक सुर्खेती रहेको व्यहोरा समेत जानकारी लिइ बाइक चलाइरहदा पृथ्वीमा रात्रीले आफ्नो प्रभुत्व जमाइ सकेको थियो । तुलाभाडी लगायतका ठाउं हुदै हामीले आलीतालको सडकयात्रा पुरा गरी परशुराम न.पा.प्रवेश गर्यौं । बाटामै प्रवेश गेट रहेछ । रंगुन नदीले तत् क्षेत्रमा त्रासदी श्रजना गर्दो रहेछ ।
पक्की सडकमा अगाडी बढीरहदा बाटामा मेला भर्न जानेहरुको असाध्यै भिड देखिन्थ्यो । जोगबुढा बजार छेउमा रहेको बसपार्कबाट अगाडी बडिरहदा भागेश्वर मा.वि. हुदै रंगुन नदीको पुल तरी पारी पुग्दा गाडीको भिडभाड झन बढ्न थाल्यो । कटाल क्षेत्र हुदै अगाडी बढिरहदा रज्यौडा,बहादुर क्षेत्र हुदै कच्ची बाटो छिचोल्दै हामी परशुराम धाम प्रवेशको गेट पुग्यौं । गेटमा रु.५०।को टिकट काटी अगाडी बढिरहदा भित्र पट्टी करीब आधा कि.मि. पक्की बाटो पश्चात मेलाका पसल र सवारी साधनको लस्कर मज्जैले देखिन्थ्यो । हजारौंको संख्यामा मोटरसाइकल तथा ४ पांग्रे सवारीसाधन पार्किंग गरिएका थिए । हामीले समेत गाडी पार्किंग संगै मेलाको मुलद्दार हुदै अगाडी बढ्यौं । सयौंंको संख्यामा मेला पसल थापिएका थिए भने हजारौंको संख्यामा मेला भर्न आउने दर्शनार्थीको भिड थियो । अलिक अगाडी ब्रतबन्धका लागि हाइसमा आएका पारिवारिक टोलीका सदस्यहरु संग भेटभाट भयो । ग्वान्नी भागेश्वरको द्यौरा रोकिने स्थलमा हामीले ब्रतबन्धको कार्यक्रम अगाडी बढाउने निधो गर्यौ । सो स्थानको व्यवस्थापन निर्मला दिदिका भिनाजुले पहिलेनै गर्नु भएको थियो । अर्को दिन भिडभाड बढि हुनेहोकी भन्ने मनसायले हामीले ३० गते राती परशुराम मन्दिरको दर्शनसंगै प्रशादी लिएका थियौं ।बिजुली बत्तीको प्रबन्ध मिलाइ,दाउराको जोहो गरी ,महाकाली नदीबाट पानी ल्याइ खानपीनको व्यवस्था तिर लागीरहदा पण्डित पन्तजीले यज्ञशाला निर्माणको कार्यलाई अगाडी बडाइरहनु भएको थियो ।
एक छिन मेला अवलोकनका लागी पुष्पराज भाइ र म निस्कदा चिया र पकौडीको आनन्द ज्वाजल्यमान बलिरहेको आगोको समिपमा लिएका थियौं ।सो पश्चात सुरुमा सबै सदस्यका लागि चिया बनाइ सो को रस्वासादन गरी मानप्रसाद काका तरकारीको प्रबन्ध तिर लाग्नु भयो ,महेश काका र म समेत व्यवस्थापकीय कार्यमा लागेका थियौं । दाउरा बोक्ने कार्यमा पुरुष टोली प्रायः पुरै खटेको थियो । हेमराज काकाका साली नाता पर्ने विष्ना भट्ट(बालविकास शिक्षक) अत्यन्त हँसमुख भइ कार्यक्रमका लागि महत्वपुर्ण योगदान गरिरहनु भएको थियो,मानप्रसाद काका र भिनाजुको योगदान समेत वर्णन गर्न साध्य थिएन । बिचबिचमा हिन्दी समेतमा ठट्यौली गर्ने महादेव ठुल्बुवाले कार्यक्रमको दिपकको भुमिका खेल्नु भएको थियो । सब्जी संगै रोटी(लउन)को सामुहिक खाना अत्यन्त मिठासपुर्ण थियो । पुजाको पुर्वांग पश्चात कार्यक्रमका सबै सदस्यले सामुहिक खाना खाइरहदा त्यसले वनभोज समेतको झल्को दिइरहेको थियो । किशोर भाञ्जा अविश्रान्त फोटो खिच्नमा लागिपरेका थिए,व्रतबन्धको दीर्घस्मृतीका लागि । हामी पुग्दै गर्दा भेटिएका चिन्तामणी कलौनी अंकलका परिवार पछि भेट्ने भनि बिदा भएका थिए,तर भोजनको समयमा चाहीं आउनु भएन । विभिन्न क्षेत्र तथा जिल्लाबाट आउने द्यौराहरुले अझै रमाइलो तथा भिड हुने तर यसपालि गांउमा सुतक परेकाले द्यौरा नआएको कुरा मेला भर्न आएका व्यक्ति बताइ रहेका थिए । ठाउँठाउँमा काठका मुडा बालेर मानिसहरु जाग्राम बसिरहेका थिए भने कोही त ग्राउण्डमै कम्बल ओडेर सुतेका समेत भेटिन्थे । भजन सन्ध्या समेत चलेको थिए,प्रखर हार्मोनियम बादक एन.डी.भट्ट समेत भजनकिर्तनमा व्यस्त हुनु भएको देख्दा आनन्दानुभुती भइरहेको थियो । सु.प. प्रदेश सभा सदस्य मा.डा.तारा जोशीले निःशुल्क चिया तथा प्रसादी वितरणार्थ स्टल राख्नु भएको थियो । ति सबै दृश्यावलोकन पश्चात प्रायःसदस्यहरु यज्ञशालाकै आसपास बिछ्याइएको परालमै रात्रीविश्राम गर्न लाग्नु भएको थियो भने हामी ५ जनाको टिम रात्री विश्रामका लागी विंगर तर्फ गयौं । थकान महसुस भएकाले विश्राम स्थल पाउदा अत्यन्त रमाइलो लागेको थियो ।
केही सामयिक गफ पश्चात करिब १२ बजेतिर हामी अल्प निन्द्रामा लिन भयौं । १०।१ बिहान ३ः३० बजे उठी हामी नित्यकर्म पश्चात पावन महाकाली नदीमा स्नानका लागि निस्क्यौं । स्नान गर्ने भक्तजनहरु रातीको १।२ बजेबाटै सुरु गरि गन्तव्य तर्फ निस्कदा रहेछन । सुरुमा चिसो भइरहेको स्नानमा शरीरमा पानी हाल्दा तातो बढ्दै गयो । स्नान पश्चात नदीमा फुल र अक्षताले पुजा गरि परशुराम मन्दिरमा पुजा गर्यौ । सो मन्दिरमा सामुहिक फोटो लिइ हामी चिया पिउन मेला पसल तर्फ गयौं । रात भरी एउटै भाडोमा चिया बनेकाले त्यत्ती चसक्क गर्दो चिया बनेको थिएन । तहांबाट हामी यज्ञशाला आयौं ,ब्रतबन्ध कार्यक्रम चलिरहेको थियो ,केश मुण्डनको कार्य शंकरजीले सुरु गरे पश्चात म समेत पुष्पराज भाइ तथा पण्डित जी लगायत ५ जनाबाट सो कार्य सम्पन्न भयो । तत्पश्चात भिक्षाको कार्यक्रम अत्यन्त रमाइलो भएको थियो । भिक्षाम देही,आलोक शंकर शब्दोच्चारणबाट श्रीध्वनीको गुञ्जायमानले आत्मशान्ति मिलिरहेको थियो । दया भाइ र म समेत भिक्षुका पछिपछि थियौ । काशीको रने वालो छु,गंंगा स्नान गर्नेवालो छु,आलोक शंकर भन्ने शब्द सहित भिक्षा माग्ने कार्य ५ पटक चलिरहदा पहिलो भिक्षा गुरु,सो पश्चात आमाबुवा,सो पश्चात ठुल्बुवा,सो पश्चात आफन्त तथा अन्तिममा स्वयम्का लागि गुरुका अनुमतीमा भिक्षा माग्ने प्रसंगले पौराणिक कालको झल्को दिइरहेको थियो । सबैजनाबाट ५ पटक भिक्षा माग्नका लागी गोलाकार रुपमा घुमीरहदा भिडियो छायांकन समेत भइरहेको थियो ।सो पश्चात वानप्रस्थ गर्ने भिक्षुको जोड र जान नदिने पारिवारिक सदस्यको जोडको कृतिम दृश्य मजाकिलो देखिन्थ्यो । सो पश्चात गंगा स्नानसंगै दिक्षा दिइ टिका पश्चात व्रतबन्धको तत्समयको कार्यक्रम समाप्त भएको थियो । मेला भर्न आएका परशुराम न.पा.का पुर्व उपप्रमुखसँगको भलाकुसारी समेत राम्रै भएको थियो ।तत् पछि मानप्रसाद काका,म तथा महादेव ठुल्बुबा चिया खान पुनः मेला पसल तर्पm गयौं । घरका लागि भनी मानप्रसाद काकाले किनेको मिठो प्रसादी सबैले सामुहिक रुपमा खायौं । सो पश्चात हामी प्राचिन शिव मन्दिर हेर्न अलिक टाढा गयौं,बढो भिड थियो स्नानार्थीहरुको ।
नदीको डिलमा बसी सामुहिक फोटो तथा भिडियो बनाइरहदा महादेव ठुल्बुवाको मिठास सहितको चर्को आवाजले अझै रमाइलो भइरहेको थियो । सो पश्चात करीब ९ बजेतिर हूस्सू विस्तारै कम भए पश्चात हामीले महाकाली पारीको पहाडको समेत अवलोकन गरी फोटो लियौं,नदी अगाडीको बिसौनीमा ब्रतालु भाइ संग फोटो खिची परशुराम मुर्ति छेउको फोटो लियौं,सो कार्यमा कर्ण ब. धानुक अंकलका छोरा दिपेशले सहयोग गरेका थिए । धनगढी उमनपा का मेयर गोपी हमालसंग समेत मेलाका दौरान भेट भयो । विभिन्न प्रबुद्ध व्यक्तित्वहरुको कार्यक्रममा उपस्थिती थियो । सो संगै विंगरमा फर्किने ब्रतबन्ध टोलीसंग बिदा मागी आवश्यक प्रसादी किनि हामी गृह क्षेत्रका लागी रमाना हुदा करीब ९ः३० बजेको थियो । सुरुमा बाइक निकाल्न गार्हो होला भनेको त बिहान अध्यारैमा बाइक पार्किंग खाली भइसकेको थियो । रातीको चिस्यानले बाइक स्टार्ट नभए पश्चात केहीबेरको प्रयास पश्चात हामी हुइकियौं,बुडर झरनालाई केन्द्रमा राखेर । परशुराम क्षेत्रको चमक तथा मोहकता अदितीय र विशिष्ट थियो । वास्तविक तिर्थानुभुती हुने ठाउं रहेछ यहां । एउटा छुट्टै उज्यालोपना यहाँ थियो । हरिद्दार जस्तै स्नानका लागि निर्मित सांला प्रयोग गरि स्नान गरिरहेका भक्तजन देख्दा बिल्कुलै फरक अनुभुती हुने गर्दथ्यो ।
यि विशेषताका बाबजुद रंगुन खोला ,महाकाली नदी,सादनी जस्ता विभिन्न नदीले भित्री मधेश भनिने आलिताल तथा परशुराम पालिकाको विकासमा अथाह बाधा श्रजना गरे जस्तो भान भयो । नदीको वास्तविक विकराल रुप र त्यसबाट श्रजित खण्डहरको अवस्था रंगुन नदीलाई हेरे पछि थाहा भयो । जताततैका पुल बगेको ,जमिन बगड बनेको देख्दा नदीहरु विकासका संवाहक नभइ अवरोधक भए जस्तो लाग्यो । यि विचारहरु मानसपटलमा खेलाइरहदा आलीताल गा.पा. पछिको उकालो कटाइ हामी बुडर बजार पुग्यौं । बुडरको अछाम धु्रवतारा होटलमा राइतो सहितको मिठो खाना ,झन मिठो हस्पिटालिटिमा खाइ एकछिन आराम गरी तत् ठाउंबाट १० कि.मि तल जोरायल रोडमा रहेको बुडर झरना तर्फ प्रस्थान गर्यौं । प्रहरी तालिम केन्द्र जाने सडकको विपरित तर्फबाट रहेछ झरना जाने बाटो,बडो सुन्दर ठाउं । मिठो स्वादका कारण आवश्यकता भन्दा अलि बढी खाना खाएकाले बाइकको यात्रामै झुम्म झुम्म निन्द्रा लागिरहेको थियो । रिठा ,पत्यौडा ,छतिवन ताल तथा गांउ समेत सोही बाटोमा रहेछन ।
गेट छेउबाट अलिक कच्ची बाटो छिचोलेर झरना छेउ पुग्दा बिहेको समेत तयारी भइरहेको थियो,छेवैको मन्दिरमा । झरना छेउ पुग्दा करीब २०।२५ मिनेट जति बसेर मज्जाले दृश्यावलोकन गर्यौं । रोचक रहेछ झरना ,फोटो लिइ ,स्नानार्थ आएका भक्तजनसंग अन्तरक्रिया गरी मुख मिठोका साथ बुडरका लागि हिन्यौं । बुडरमा सब्जी ,फलफुलको दर सोध्दा तराई भन्दा झन महंगो लाग्यो । त्यहांबाट फल्टुडेमा चिया खाइ अगाडी बढ्दा तुसार सहितको हुस्सूले घेरिसकेको थियो । विस्तार विस्तार सहजपुर पुग्दा अलिक कागती किनी भासु भिर हुदै खानीडाँडा पुग्यौं,चिसो अत्यन्त भएकाले पहिलेको यात्रामा समेत चिया खाएको बझांगी बाजेको पसलमा चिया बिस्कुट खाइ बुढीतोला हुदै गोदावरी क्षेत्र पुग्दा सो क्षेत्रमा मेलाको रौनक कायमै थियो । तहांबाट अत्तरीया हुदै कृष्णपुर न.पा.को गुलरिया स्थित वनदेवी मन्दिर दर्शन गरी दैजी छेउ स्थित निंगलाशैनी मन्दिरको बाहिरैबाटै स्तुती गरी हल्दुखाल राम मन्दिरको समेत दर्शन गरी सकुशल घर पुग्यौं । २ दिवसीय यात्राबाट धेरै विषय र क्षेत्रको ज्ञान प्राप्त हुनुका साथै पारिवारिक भातृत्वको प्रबर्धनमा समेत टेवा पुगेको महसुस भयो ।
मोटरसाइकल यात्रा टोलीका सदस्य ः १. महेश दत्त भट्ट २. शंकर प्रसाद भट्ट ३.अमित प्रसाद भट्ट ४.पुष्पराज भट्ट ५.राकेश ओझा
अमित प्रसाद भट्ट
(दोगडा केदार गा.पा.४ पिपलकोट चौराह,बैतडी)
मोबाइल नम्बर : ९८४८७४४५३५