दोधारा । कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिकामा दलहरुले आफ्ना उमेदवारको प्रचार प्रसारका गतिविधिहरु सौहार्दपूर्ण बातावरणमा सञ्चालन गरिरहेका छन् । त्यसकै एक उदाहरण हो प्रकाशित गरिएको फोटो । प्रकाशित गरिएको फोटोमा नेपाली कांग्रेसका कार्यकर्ता र एमाले कार्यकर्ताहरु आ–आफ्नो उमेदवारका लागि मत माग्न घर दैलोको क्रममा एउटै घरमा पुग्दा लिएको हो । उक्त फोटोमा दुबै पार्टीका कार्यकर्ताहरु आ–आफ्ना पार्टीका चुनाव चिन्ह अंकित झण्डा र पार्टीका झण्डा सहित आफ्नो कार्य गरिरहेका छन् ।


दोधारा चाँदनी नगरपालिका प्रतिनिधी सभा सदस्य निर्वाचन क्षेत्र नंम्बर ३ अन्तरगत पर्दछ भने प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नंम्बर ३ (२) अन्तरगत पर्दछ् । प्रदेश सभा सदस्यका लागि नेकपा एमालेबाट भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्ट निर्वाचन लडिरहेका छन भने नेपाली कांग्रेसबाट बेल बहादुर राना प्रतिस्पर्धा गरिरहेका छन् । उक्त क्षेत्रमा स्वतन्त्र लगाएतका अन्य पार्टीका पनि उमेदवार रहेता पनि मुख्य प्रतिस्पर्धा विष्ट र राना विच हुने देखिन्छ ।

त्यसैगरी प्रतिनिधि सभा सदस्यका लागि एमालेबाट केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज निरुदेवी पाल प्रतिस्पर्धामा छिन् भने कांग्रेसबाट रमेश लेखक प्रतिस्पर्धामा उत्रेका छन् । यी दुई उमेदवार विच पनि कडा टक्कर हुने देखिन्छ । अहिले नेकपा (एमाले) राप्रका कार्यकर्ता सहित चुनावी प्रचारमा जनताका घर दैलोमा पुगिरहेका छन् भने नेपाली कांग्रेस माओवादीका कार्यकर्ता लिएर चुनावि प्रचारमा होमिएको छन् ।







