कविता : हामी मान्छे
हामी मान्छे आफूले आफूलाई निकै सचेत ठान्छौँ
आफूले आफूलाई निकै चलाख ठान्छौँ
राख्न त धन अरूले नदेख्नेगरि लुकाएर राख्छौँ
घरको मूल गेटदेखि सन्दुकसम्मको एकएक चावी देखाइदिन्छौँ
हामी मान्छे आफूले आफूलाई निकै विद्वान ठान्छौँ
आफूले आफुलाई निकै बुद्धिमान ठान्छौँ
सम्पन्न हुन सक्ने अमूल्य खजना देखेका छौँ
हीराको खजना खन्न धमिराहरू पठाउछौँ
हामी मान्छे आफूले आफूलाई निकै अनुभवी ठान्छौँ
आफूले आफूलाई निकै विशेषज्ञ ठान्छौँ
झुसिल्किराले पात खान थाल्यो भने ओखती गर्दैनौँ
झुसिल्किरा लागेका बोटहरू नै उखेलेर फालिदिन्छौँ
हामी मान्छे आफूले आफूलाई निकै धार्मिक ठान्छौँ
आफूले आफूलाई निकै दानी ठान्छौँ
धनदान गर्दा दीन दुस्खी देख्दा घीन मान्छौँ
गल्लिगल्लिमा लुटिखाने पापीहरूलाई दान गर्छौँ
मतदान गर्दा युवा विज्ञलाई पत्याउदै पत्याउदैनौँ
बुढा लठेब्रा बहिरा गवाँरहरूलाई मतदान गर्छौँ
हामी मान्छे आफूले आफूलाई निकै स्वाभिमानी ठान्छौँ
आफ्नो घरको छानोमाथिको चाँदी देख्दैनौँ
आफ्नो आँगनको हीराखानी खन्दै खन्दैनौँ
छिमेकिसँग भिक मागेर फलाम भित्र्याइरहन्छौँ
हामी मान्छे आफूले आफूलाई निकै सत्य ठान्छौँ
आफूले आफूलाई निकै सत्कर्मि ठान्छौँ
कहिले संविधानलाई संसारकै उत्कृष्ट भन्छौँ
कहिले त्यै संविधान फेर्नुपर्छ भनी भोट माग्छौँ
हामी मान्छे आफूले आफूलाई निकै सुशासन कर्ता ठान्छौँ
आफूले आफूलाई निकै सरकारी बफादार ठान्छौँ
कुरा नमिले हाकिमले सरकारी सम्पत्ति खायो भन्छौँ
ढुङ्गा हान्छौँ सरकारी कार्यालय फोड्छौँ आगो लगाउछौँ हामी
मान्छे आफूले आफूलाई निकै युगवादी ठान्छौँ
आफूले आफूलाई निकै क्रान्तिकारी ठान्छौँ
युगपुरूषको शालिक देख्न चाहदै चाहदैनौँ
राष्ट्र पिताको शालिक ढालेर छोराको शालिक बनाउछौँ
हामी मान्छे आफूले आफूलाई निकै सर्वहारा ठान्छौँ
आफूले आफूलाई निकै समाजवादी ठान्छौँ
दिन नबिराइ हरेक साँझ माइलीको भट्टि छिर्छौँ
उधारो राजनीति गर्छौँ ,चोकमा जोडजोडले नारा लगाउछौँ
हामी मान्छे आफूलाई आफूले निकै विकासवादी ठान्छौँ
आफूले आफूलाई निकै परिवर्तनकारी ठान्छौँ
नेपालका उद्योग कलकारखाना विदेशीलाई बेच्छौँ
महिनैपिच्छे गाउँ गाउँमा मदिरा दोकान उद्घाटन गर्छौँ
हामी मान्छे आफूले आफूलाई निकै अध्येता ठान्छौँ
आफूले आफूलाई निकै राजनीतिज्ञ ठान्छौँ
पार्टीका लागि परिवारको भागबण्डा लगाउछौँ
भविष्य खोज्न घर त्यागेर नेताको झोला बोक्छौँ
हामी मान्छे आफूलाई आफूले निकै वातावरणविद ठान्छौँ
आफूले आफूलाई निकै पर्यावरणविद ठान्छौँ
खोलाहरूमा माछा मार्न विषादी छर्किन्छौँ
रूख काट्दै डाडा भत्काउदै भ्यू टावर बनाउछौँ
शुल्क तिरेर आफ्नै बाझो बारी र झुप्रो घर हेर्छौँ
हामी मान्छे आफूले आफूलाई निकै देशभक्त ठान्छौँ
आफूले आफूलाई निकै मातृभक्त ठान्छौँ
आफ्नो घर बनाउन माटो बेचिदिन्छौँ
किनेकोले भोगचलन गर्दा माटो मिच्यो भन्दछौँ
हामी मान्छे समय सान्दर्भिक आफ्नो विवेकको बलि चढाएर
परररररर ताली बजाएर स्वीकृति दिने समाजमा छौँ
आउनुस् मैले पनि कविता भट्याइसके ताली बजाउनुस्
ता म पनि आफूलाई महाकवि ठानूँ !

भूपि सरोवर
सिगास ०३ बैतडी

